काठमाडौं । हुन्डाई मोटर्सले अमेरिकामा सुरू भएको न्यूयोर्क मोटर शोमा ‘बोल्डर कन्सेप्ट’ देखाएको छ । कम्पनीले पहिलो पटक प्योर अफरोड क्षमता भएको बक्सी डिजाइन एसयूभीको कन्सेप्ट देखाएको हो ।
हुन्डाईले देखाएको बोल्डर कन्सेप्टको बाहिरी भागमा ‘आर्ट अफ स्टील’ डिजाइन ल्याङ्गवेजमा तयार पारेको छ । कन्सेप्ट मोडलको अगाडि भागमा मस्कुलर बोनेट मोर्स कोडमा एच आकार आउने एलइडी डे टाइम रनिङ लाइटको प्रयोग भएको छ ।
कम्पनीले बोल्डर कन्सेप्टमा १८ इन्चको ह्वील दिएको छ । साथै आलमुनियम ह्वील, अल टेरेन टायर र उच्च ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । कन्सेप्ट मोडलको छतमा पनि एलईडी लाइट दिइएको छ ।
बोल्डरको पछाडिको भाग पनि निकै फरक छ । ‘डबल हिंग्ड टेलगेट’ दिइएको एसयूभीको पछाडि स्पेयर टायर राखिएका छ । हुन्डाईको अनुसार बोल्डर एसयूभी एउटा ‘क्यानभास’ मात्रै हो । यसमा धेरै कुरा कुस्टुमाइज गर्न सकिने छ ।

बाहिरबाट जति बल्की लाग्छ, भित्री क्याबिन पनि रग्ड लाग्छ । कम्पनीले यसको क्याबिनमा ४ वटा स्क्रीन दिएको छ । हेडअप डिस्प्ले, रोटरी नबको प्रयोग गरिएको छ । दुई कलरमा सजिएको ‘थ्री स्पोक’ स्टेयरिङ ह्वील निकै स्मार्ट देखिएको छ ।
सफ्टवेयरमा आधारित ‘रियल टाइम अफरोड गाइडेन्स सिस्टम’ले खराब बाटोमा बोल्डर एसयूभी चलाउँदा अलगै किसिमको आत्मबल प्रदान गर्नेछ ।

हुन्डाईले ‘बडी अन फ्रेम’मा तयार पार्ने बोल्डरमा आधारित पीकअपहरू पनि निकट भविष्यमा उत्पादन गर्नेछ । यस्तो बोल्ड र बल्की कन्सेप्ट अमेरिकी बजारबाट बिक्री सुरू हुनेछ ।

