काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले २०२३ सेप्टेम्बर महिनामा अहिलेसम्मकै धेरै कार बिक्री गर्न सफल भएको छ । कम्पनीले सन् १९९८ बाट भारतमा कार उत्पादन थालेकोमा एकै महिना ७१ हजार ६४१ यूनिट कार बिक्री गरेर आफ्नो नयाँ रेकर्ड बनाएको हो ।
हुन्डाईले सेप्टेम्बर महिनामा भारतको स्थानीय बजारमा ५४ हजार २४१ यूनिट र अन्तर्राष्ट्रिय बजारमा १७ हजार ४०० यूनिट कार उत्पादन गरेर बिक्रीको लागि पठाएको हो ।
भारतमा पनि आउँदै गरेका दशैं तथा दिपावलीको अवसरमा गाडीको माग उच्च रहने भएको कारण कम्पनीहरुको उत्पादन यो समयमा बढी हुन्छ । त्यसमाथि हुन्डाईको बिक्रीमा नयाँ मोडल एक्टरले पनि विशेष भूमिका निर्वाह गरेको रिपोर्ट बाहिर आएको छ ।
केहि महिना बजारमा आएको हुन्डाई एक्सटर माइक्रो एसयूभीले टाटाको पन्चसँग प्रतिस्पर्धा गरिरहको छ । हुन्डाईले भारतीय बजारमा ९ प्रतिशतको वृद्धि पाउँदा अन्तर्राष्ट्रिय बजारमा भने एकै पटक २८.८७ प्रतिशतले वृद्धि पाएको हो । जसले गर्दा समग्रमा हुन्डाईको बिक्री सेप्टेम्बरमा १३.३५ प्रतिशतले बढेको हो ।

