काठमाडौं । दशैं आउन केही दिनमात्र बाँकी रहेको छ । यस्तोमा सधै झैँ अटो क्षेत्रमा पनि चहलपहल बढ्ने क्रम जारी रहेको छ । तपाई कम पैसामा नयाँ परिवारीक कार किन्ने सोचाई बनाउँदै हुनुहुन्छ भने तपाईलाई दुई उत्कृष्ट फ्यामली कारको विषयमा हामी जानकारी दिन गइरहेका छौं ।
नेपाली बजारमा सर्वाधिक सफल दुई ब्राण्ड हुन्डाई र मारुती सुजुकीले बजारमा बिक्री वितरण गर्दै आएको दुई मोडल सेन्ट्रो र सेलेरियो कम मूल्यमा बजारमा उपलब्ध सर्वाधिक सफल मोडल हुन् ।
यदी तपाई यी दुई मध्य कुनै एक कार किन्ने सोचाई बनाउँदै हुनुहुन्छ भने यि दुबै कारका समानता र फरकको बारेमा हामी तपाईलाई जानकारी गराउने छौं ।
नेपाली बजारमा मरुती सुजुकीका कार सीजी मोटोकर्पले बिक्री गर्दै आएको छ भने हुन्डाईका कार लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले आधिकारीक वितरकको रुपमा काम गर्दै आएको छ ।
इन्जिन
सेन्ट्रोमा १०८६ सीसी फोर सिलिण्डर क्षमताको इन्जिन दिइएको छ भने सेलेरियोमा ९९८ सीसीको तीन सिलिण्डर इन्जिन दिइएको छ ।
सेन्ट्रोमा रहेको इन्जिनले ५५०० आरपीएममा ६८ बीएच पावर प्रदान गर्छ भने सेलेरियोमा रहेको इन्जिनले ६७ बीएच पावर प्रदान गर्छ ।
सेन्ट्रोमा रहेको इन्जिनको पिक टर्क ९९ एनएम छ भने सेलेरियोमा रहेको इन्जिनले ९० एनएम टर्क उत्पादन गर्छ । पावरको मामलामा दुबै कार लगभग समान रहेका छन् ।
दुबै कारमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ भने एएमटी अप्सनमा समेत उपलब्ध रहेको छ । दुबै कारमा फ्रन्ट ह्वील ड्राइभ हुन् ।

माइलेज
माइलेजको हिसावले सेलेरियो राम्रो रहेको छ । सेलेरियोले प्रतिलिटर २३.१ किलोमिटर माइलेज दिने एआएआईले सर्टिफाइ गरेको छ । साथै, एआरएआईका अनुसार सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।
टप स्पीड
कारको उच्चतम गति केही फरक रहेको छ । सेन्ट्रोको टप स्पीड १५६ किलोमिटर प्रतिघन्टा हुँदा सेलेरियो १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छ ।
इन्टेरियर
हुन्डाई सेन्ट्रोको ड्यास बोर्ड निकै प्रिमियम रहेको छ । डिउल टोन कलरमा रहेको ड्यास बोर्ड, डिउल ट्रिप मिटर, ६.३५ सिएमको एड्भान्स मल्टी इन्फरमेसन डिस्प्ले, रुमल्याम्प जस्ता फिचर यसमा रहेको छ ।
दुबै कारमा चालकको आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतीय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम, पावर विण्डो, किलेस इन्ट्री, इलेक्ट्रीक पावर स्टेरिङ, जस्ता विशेषता उपलब्ध रहेका छन् ।
डायमेन्सन
सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६०० एमएम र उचाई १५६० एमएम रहेको छ । सेन्ट्रो ह्याचब्याकको लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम उचाई १५६० एमएम रहेको छ । लम्बाईमा सेलेरियो लामो छ भने चौडाईमा सेन्ट्रो अगाडि रहेको छ ।
ह्वीलबेसको साइजमा सेलेरियो केही अगाडि छ । सेलेरियोको ह्वीलवेस २४२५ एमएम रहेको छ भने सेन्ट्रोको २४०० एमएम रहेको छ । दुबै कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

एक्स्टेरियर
बाहिरबाट हेर्दा दुबै कार निकै आकर्षक देखिन्छन् । सेलेरियोमा बडी कलर बम्पर, बडी कलर व्याक डोर गार्निस, ग्रिल मेटेरियल अतिरिक्त फिचर उपलब्ध रहेको छ भने सेन्ट्रोमा हव क्याप र बडी कलर बम्पर उपलब्ध रहेको छ । दुबै कारमा आउट साइट रियर भ्यू मिरर, एन्टेनाजस्ता विशेषता रहेको छ ।
सुरक्षा फिचर
दुबै कारमा ड्राइभर एयरब्याग, एबीएस, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधासहितको सिट बेल्ट, इन्जिन इम्मोबलाइजर, चाइल्ड सेफ्टी लक जस्ता फिचर उपलब्ध रहेका छन् । सेन्ट्रोमा इबीडी समेत उपलब्ध रहेको छ ।
मूल्य
सेलेरियोलाई सीजी मोटो कर्पले २ भेरियन्टमा नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ भने सेन्ट्रोको ५ भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ ।
सेलेरियोको भिएक्सआईको मूल्य २३ लाख ९९ हजार रुपैयाँ र जेडएक्सआईको २६ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी हुन्डाईको सेन्ट्रो इराको मूल्य २२ लाख ९६ हजार, मग्नाको २५ लाख ५६ हजार, मग्ना एएमटीको २८ लाख ९६ हजार, स्पोर्टज्को २७ लाख ५६ हजार र टप भेरियन्ट आस्टाको ३० लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
निष्कर्ष
नेपाली बजारमा हुन्डाई सेन्ट्रोको नाम धेरै चर्चामा रहँदै आएको छ । सन् २००० देखि नै नेपाली बजारमा बिक्री वितरण भइरहेको सेन्ट्रो पछिल्लो पटक अल न्यू डिजाइनमा आएको छ ।
सुजुकी सेलेरियो अहिले पनि यो सेग्मेन्टमा निकै राम्रो बिक्री भइरहेको कार हो । इन्जिन पावरमा केही अगाडि सेन्ट्रो रहेको छ भने सेलेरियोले पनि फ्याम्ली कारको रुपमा स्थापित भइसकेको छ ।
दुबै कार उत्कृष्ट छन् । तपाईको छनोटमा इन्डो–जापानी ब्राण्ड रहेको छ भने सेलेरियो सहि छनोट हुनेछ । त्यस्तै तपाई कारको लिगेसी र कोरियन प्रिमियमनेस चाहनु हुन्छ भने सेन्ट्रो रोजाइमा पर्छ ।


