काठमाडौं । दशैं नजिकिएसँगै कम्पनीहरुले नयाँ कार बजारमा ल्याउने भएका छन् । अहिले काठमाडौं आइसकेको दुई नयाँ कार आगामी हप्ताबाट विक्री सुरु हुने भएको छ ।
नेपाल आएको हुन्डाई टुसान आगामी भदौ २१ गतेबाट विक्री सुरु हुँदैछ भने निसानले ल्याएको लिफ इलेक्ट्रीक कार भदौ २५ गते शुक्रबारबाट विक्री सुरु हुँदैछ । यी दुबै कार अहिले काठमाडौं आइसकेका छन् ।
निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसान लिफको मूल्य ५९ लाख ९९ हजार निर्धारण गरेर विक्री गर्दैछ । यसको एउटा मात्रै भेरियन्ट नेपाल आएको छ ।
हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विभिन्न ४ भेरियन्टमा टुसान नेपाल ल्याएको छ । नेपाल आएको टुसान दुई फरक इन्जिनमा उपलब्ध हुनेछ । टुसानको २.० लिटर टर्बो पेट्रोल इन्जिन सहित तीन भेरियन्ट र २.० लिटर डिजेलमा एउटा भेरियन्ट उपलब्ध हुनेछ ।
यसको सुरुवाती भेरियन्ट जीएलको मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट जीएलएक्स अटोमेटीक डिजेलको १ करोड ३४ लाख ९६ हजार रहेको छ । टुसानको प्यारामेट्रीक ग्रिल अहिले निकै चर्चामा रहेको छ ।
निसान लिफ पूर्ण इलेक्ट्रीक र प्रदुषण रहित कार हो । यसमा कम्पनीले ४० किलोवाट आवरको व्याट्री प्याक र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । एक पटकको फुल चार्जमा यसलाई ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०१० देखि निरन्तर विक्री हुँदै आएको निसान लिफमा विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ ।

