यसरी बन्दैछ काठमाडौंमा ११ तले पार्किङ, लगानी ३ करोड ५० लाख

काठमाडौं । नेपालमै पहिलो पटक निजी क्षेत्रले ११ तले कार पार्किङ निर्माण गरेको छ । नेपालकै पहिलो बहुतले पार्किङ निर्माण भाटभटेनी सुपर मार्केटले गरिरहेको हो ।

खुद्रा व्यापारलाई आधुनिकीकरण गर्दै देशभर व्यवसाय विस्तारमा लागेको भाटभटेनी सुपर मार्केटले नक्शाल (पुरानो भाटभटेनी) मा सुविधा सम्पन्न ११ तले पार्किङ निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

भाटभटेनी आफ्नो आउटलेटमा पार्किङ समस्या भएपछि ग्राहकहरूलाई सहजता दिलाउन ११ तले पार्किङ निर्माणलाई तीव्रता दिएको हो । ११ तले पार्किङको हरेक तलामा ४ वटाका दरले एकपटकमा ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ ।

अहिले उक्त पार्किङ निर्माणको काम ७० देखि ८० प्रतिशत हाराहारीमा पुरा भएको भाटभटेनी सुपरमार्केट सिभिल विभाग साइट इन्जिनीयर विवेक घिमिरेले जानकारी दिए ।

भाटभटेनीले उक्त पार्किङ आउँदो दशैंअघि नै संचालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको उनले बताए । ‘पार्किङ निर्माणको काम हालसम्म ८० प्रतिशत हाराहारी सम्पन्न भएको छ, चाडपर्वमा ग्राहक उल्लेख्य मात्रामा आउने भएकाले दशैं अघि संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौं, दशैं अघि नै हामी ह्याण्डओभर गर्छौं,’ घिमिरेले भने ।

उक्त पार्किङ निर्माणका लागि करीब ३ करोड ५३ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । चिनियाँ कम्पनीले डिजाइन गरेको उक्त बहुतले पार्किङ इण्डियन कम्पनी ओमेगा इन्जिनीयरिङले निर्माण गरिरहेको छ । ओमेगा कम्पनीसँगै नेपाली टोली स्पात कन्स्ट्रक्शनले पनि काम गरिरहेको छ ।

घिमिरेका अनुसार पार्किङ निर्माणको मेकानिकल काम लगभग सकिएको छ भने सिभिल,फेब्रिकेसनको पार्ट बाँकी छ । उनका अनुसार मेकानिकल पार्ट अन्तर्गत अटोमेटिक सिस्टम फिक्स गर्ने, लिफ्ट, अटोमेशन, इलेक्ट्रिकलपार्ट, सेन्सर लगाएतको काम पर्दछन् । अबको एक महिना भित्रै सबै काम सकिएर पार्किङ संचालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।

काठमाडौं उपत्यकामा सवारीधनीले भोग्नु पर्ने सबैभन्दा ठूला समस्या हुन् जाम र पार्किङ हाे । धेरै ट्राफिक भएकाे समयमा थोरै स्थानमा धेरै सवारी साधन कसरी पार्किङ गर्न सकिन्छ भन्नेहरुलाई उक्त स्थानले गतिलो जवाफ दिएको छ ।


Back_to_top