दशैंमा २५ लाख खर्च गरेर पेट्रोल कार किन्नेलाई ५ छनोट

काठमाडौं । विशेषत चाडवार्डको समय सुरु भएसँगै विभिन्न कम्पनीले गाडी किन्ने ग्राहक लक्षित योजनाहरु ल्याउने गरेका छन् । ग्राहक पनि कुन कम्पनीले राम्रो स्कीम ल्याउँछ, त्यसपछि गाडी किन्ने योजना बनाएर कुरिरहेका छन् ।

अहिले बजारमा २० लाखदेखि ६ करोड मूल्यसम्मका गाडी किन्न पाइन्छ । यस्तोमा थोरै बजेट हुने ग्राहकलाई लक्षित गर्दै हुन्डाई, मारुती सुजुकी, रेनो, डाट्सन जस्ता ब्राण्डले कम मूल्यका गाडी बजारमा विक्री वितरण गर्दै आएका छन् ।

यहाँ हामीले २५ लाख रुपैयाँ तिरेर गाडी किन्ने योजना बनाएका ग्राहक लक्षित केही गाडीको विषयमा चर्चा गर्न खोजेका छौं ।

हुन्डाई सेन्ट्रो नेपालको लागि परिचत रहेको मोडल हो । १.१ लिटर फोर सिलिण्डर इन्जिन रहेको यो गाडी इन्जिनको हिसावले सबैभन्दा उत्कृष्ट मोडल हो । विभिन्न ५ भेरियन्टमा उपलब्ध सेन्ट्रोको सुरुवाती भेरियन्ट इराको मूल्य नै २५ लाख ५६ हजार रुपैयाँ रहेको छ । सेन्ट्रोको वेस भेरियन्ट किन्न ग्राहकले २५ लाख बजेट छुट्टाएको छ भने पुग्ने छ ।

तर, इराभन्दा माथिको भेरियन्ट किन्न भने थप रहको आवश्यकता पर्छ । मग्ना भेरियन्टको मूल्य २७ लाख ५६ हजार, मग्ना अटोमेटीकको ३० लाख ५६ हजार, स्पोर्टज् भेरियन्टको २९ लाख ९६ हजार र आस्टा भेरियन्टको मूल्य ३२ लाख २६ हजार रुपैयाँ रहेको छ ।

साना गाडी खोज्नेको लागि उपयुक्त अर्को कार हो रेनो क्वीड । रेनो क्वीड विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । यसमा १.० लिटर क्षमताको थ्रि सिलिण्डर इन्जिन रहेको छ । क्वीडको आरएक्सटी अप्सनल म्यानुयल भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

साथै, कम्पनीले क्लाइम्बर भेरियन्टको मूल्य २६ लाख ४९ हजार र आरएक्सटी अप्सनल अटोमेटीक भेरियन्टको मूल्य २६ लाख ९९ हजार तोकेर विक्री गर्दै आएको छ । स्कीमपछि ग्राहकले २५ लाखको बजेटमा क्वीड किन्न सक्ने देखिन्छ ।

साना गाडी उत्पादनको लागि प्रसिद ब्राण्ड मारुती सुजुकीको तीन मोडल २५ लाख भित्रै किन्न पाइन्छ । विशेषत अल्टो, एसप्रेसो र वागेनआर कम मूल्यमा गाडी खोज्नेको लागि उपयुक्त हुनसक्छ ।

मारुती सुजुकी एसप्रेसो विभिन्न ४ भेरियन्टमा उपलब्ध रहेको छ । यसको स्टायडर्ड भेरियन्टको मूल्य २३ लाख ४९ हजारदेखि टप भेरियन्टको मूल्य २५ लाख ९९ हजारसम्म रहेको छ । ग्राहकले स्कीमपछि २५ लाख भित्रको बजेटमा एसप्रेसोको कुनै पनि भेरियन्ट खरिद गर्न सक्नेछन् ।

वागेनाआरको भने एउटा मात्रै भेरियन्ट २५ लाखको मूल्यमा पाउन सकिन्छ । १.० लिटर इन्जिन भएको वागेनआर भिएक्सआई भेरियन्टको मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ । अन्य भेरियन्ट भिएक्सआई अप्सनलको मूल्य २७ लाख ४९ हजार र १.२ लिटर इन्जिनमा जेडएक्सआई भेरियन्टको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

डाट्सनको इन्ट्री लेवल ह्याचव्याक कार रेडी गोको दुई भेरियन्ट २५ लाख भित्रै खरिद गर्न सकिन्छ । कम्पनीले हट डिल अफरभन्दै दशैं स्कीम ल्याइसकेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले २ लाख ४ हजार बराबरको छुट पाउने उल्लेख छ ।

अहिले रेडी गोको मूल्य २४ लाख ४९ हजार र रेडी गो अटोमेटीकको मूल्य २५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top