रोयल इनफिल्ड आक्रमक बन्दा प्रिमियम मोटरसाइकलको आयात बढ्दै

काठमाडौं । समग्र दुईपाँग्रे सवारी साधनको आयात घटिरहेको समयमा प्रिमियम मानिने २५० देखि ४०० सीसी सेग्मेन्टमा मोटरसाइकलको आयात भने बढ्दो छ । विशेषगरी रोयल इनफिल्डका उत्पादन आक्रमक बजार बिस्तारमा देखिदा आयात पनि बढेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासीक अवधिमा २५० देखि ४०० सीसी सेग्मेन्टका मोटरसाइकलको आयत निकै बढेको देखिन्छ ।

चालु आवको साउन र भदौको तुलनामा असोज महिनामा ६५ प्रतिशत यो सेग्मेन्टको आयात वृद्धि भएको हो । साउन र भदौंमा गरेर यो सेग्मेन्टमा २ हजार ६ सय ६९ यूनिट मोटरसाइकल आयात भएको थियो ।

तर, असोज महिनामा १ हजार ७ सय २६ यूनिट आयातसँगै ठूलो वृद्धि देखिएको हो । विशेषगरी चाडपर्वको समय पारेर आयातकर्ताले यी मोटरसाइकल नेपाल ल्याएका हुन् ।

समग्र तीन महिनाको तथ्यांक हेर्दा ४ हजार ३ सय ४२ यूनिट अनएसेम्वल अवस्थाका २५० देखि ४०० सीसी सेग्मेन्टका मोटरसाइकल आयात भएका हुन् ।

यसका अलावा भारतबाट २४ यूनिट, चीनबाट १७ यूनिट र थाइल्याण्ड बाट १२ यूनिट तयारी अवस्थाका मोटरसाइकल आयात भएको भन्सार तथ्यांकमा देखिएको छ ।

भारतबाट अन एसेम्वल अवस्थामा यो सेग्मेन्टमा नेपाल आउने मोटरसाइकलमा बजाज डोमिनार ४०० र रोयल इनफिल्डका मोटरसाइकल धेरै छन् ।

त्यस्तै, ४०० सीसीभन्दा माथिका मोटरसाइकलको आयात पनि वृद्धि भएको देखिन्छ । चालु आवको तीन महिनामा ११८ यूनिट मोटरसाइकल ४०० सीसीदेखि ८०० सीसी क्षमाताका आयात भएका छन् ।


Back_to_top