काठमाडौं । काठमाडौं महानगरपालिकाको जडिबुटी चोकदेखि पेप्सीकोलासम्मको सडकको दायाँबायाँ अनधिकृत संरचना हटाउन ३० दिने अल्टिमेटम दिइएको छ ।
सडक विभाग र महानगरपालिकाले संयुक्त सूचना जारी गर्दै सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर भित्रका संरचना खाली गराउन निर्देशन दिएको हो ।
उक्त क्षेत्रको अतिक्रमित संरचना हटाउन सूचना प्रकाशित गरिएको यो तेस्रो पटक हो । यसअघि सूचना प्रकाशन गरिए पनि हालसम्म संरचना हटाएको नदेखिएकाले अन्तिम पटक मौका दिइएको सूचनामा उल्लेख छ ।
सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना र नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू आफैँ भत्काउन/हटाउन निर्देशन दिइएको हो ।
भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ मंसिर १८ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा (राइट अफ वे) कायम रहेको साथै नेपाल सरकार र स्थानीय सरकारका निकायबाट २०८२ वैशाख १० गते संयुक्त रूपमा सीमांकन चिनो लगाइएको सूचनामा उल्लेख छ ।
तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाए सार्वजनिक सडक ऐन, स्थानीय सरकार सञ्चालन ऐन र भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।


