काठमाडौं । भारतीय बजारमा विद्युतीय कार (ईभी) बिक्री मा उछाल आएको छ । सन् २०२६ को जनवरीमा गत वर्षको सोही महिनाको तुलनामा ईभी बिक्री ५१ प्रतिशतले बढेको हो ।
सार्वजनिक तथ्यांक अनुसार जनवरीमा भारतमा कुल १८ हजार ४२ युनिट ईभी कार बिक्री भएको छ । यो गत वर्ष जवनरीकोभन्दा ६ हजार १३३ युनिट धेरै हो । गत जनवरीमा ११ हजार ९०९ युनिट ईभी बिक्री भएको थियो ।
भारतमा कुल १५ ब्राण्डका ईभी बिक्री भएका छन् । जसमा टाटाले सर्वाधिक ७ हजार ८५२ युनिट ईभी बेचेको छ । टाटाका नेक्सन, टियागो, पंन्च, कर्भ, ह्यारियर ईभी उपलब्ध छन् । चाँडै सियरा ईभी ल्याउँदै छ ।
त्यस्तै, जेएसडब्लू एमजीले ४ हजार ६०६ युनिट ईभी बेच्दै दोस्रो स्थानमा छ । एमजीको कोमेट, जेड एस र साइबरस्टर ईभी उपलब्ध छन् ।
त्यस्तै, तेस्रो धेरै ईभी बिक्री गर्नेमा महिन्द्रा रहेको छ । महिन्द्राले जनवरीमा ३ हजार ५८९ युनिट ईभी बेचेको छ । महिन्द्राका बीई ६, एक्सईभी ९ ई, एक्सईभी ९ एस ईभी उपलब्ध छन् ।
त्यसैगरी, भिनफास्ट ४३२, हुन्डाई ३२६, बीएमडब्लू ३१२, किया ३०६, बीवाइडी २२४, मारुति सुजुकी २१०, मर्सिडिज बेन्ज ६९, स्टेलान्टिस ४१, टेस्ला ३७, भोल्भो ३५, रोस रोयस २ र पोर्श्चेको १ युनिट ईभी बिक्री भएको छ ।


