काटमाठौं । टाटा ग्रुप अन्तर्गतको दुई कम्पनी ज्यागुअर ल्याण्ड रोभर र टाटा माेटर्स मिलेर विद्युतीय कार बनाउने भएका छन् । टाटा ग्रुपले ईभीमा आफ्नो बजार हिस्सा बढाउन संयुक्त रूपमा ईभी उत्पादन गर्ने र विश्व बजारमा बिक्री गर्ने योजना तयार पारेका हुन् ।
दुई ब्राण्ड बीचको सहकार्यबाट टाटा ग्रुपको कार व्यवसायको इतिहासमा एक महत्वपूर्ण कदम हुने टाटा सन्सका चियरम्यान नटराजन चन्द्रशेखरनले बताए । टाटा सन्स ‘टाटा ग्रुप’ अन्तर्गतका सबै कम्पनीको होल्डिङ कम्पनी हो ।
उनका अनुसार जेएलआरको इलेक्ट्रीफाइड मोडुलर आर्किटेक्चर (इएमए) प्लेटफर्ममा भारतमा ज्यागुअर ल्याण्ड रोभर र टाटा ब्राण्डमा दुई फरक मोडलका विद्युतीय कार उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात हुनेछ ।
टाटाले गुजरातमा रहेको सनन्द प्लान्टमा इएमए प्लेटफर्ममा आधारित अभिन्या कार उत्पादन गर्ने योजना बनाएको छ । यअअघि नै कम्पनीले अभिन्या ईभी मोडल मात्र नभई टाटाको नयाँ ईभी ब्राण्ड हुने जानकारी दिइसकेको छ । अभिन्या ब्राण्डको ईभी अन्तर्राष्ट्रिय बजारमा पठाउने कम्पनीको योजना रहेको छ ।
एन चन्द्रशेखरनले टाटा मोटर्सले आगामी १२ महिनामा निर्यात गर्नेगरी काम गरिररहेको बताए । तर, उनले कुन मोडल निर्यात गर्न लागेको हो भन्ने विषयमा जानकारी दिएका छैनन् ।
टाटा मोटर्सले यो दशकको अन्त्यसम्ममा टाटा प्यासेन्जर इलेक्ट्रीक मोबिलिटीमा बिलियन डलर लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ । जेएलआरले पनि आगामी ५ वर्षसम्ममा १५ बिलियन पाउण्ड लगानी गर्ने जनाएको थियो ।