देशभर करिब ५ हजार किमी सडक मर्मतकाे क्रममा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशभर करिब ५ हजार किलोमिटर सडक मर्मतका क्रममा रहेको जानकारी दिएका छन् ।

राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरूले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

उनले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने सरकारको योजना रहको बताए । सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए । चाँडै नै सवारी चालक अनुमतिपत्र प्रदेशस्तरबाट नै वितरण गरिने जानकारी उनले दिए ।

उनले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताए । रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको उनकाे भनाइ छ ।

त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासङ्घलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यम निर्णय हुने जानकारी दिए ।


Back_to_top