काठमाडौं । जोरपाटी–सुन्दरीजल सडकखन्ड कहिले बन्ने भन्नेमा अन्योलता देखिएको छ । १० प्रतिशत मात्र काम सम्पन्न भएको उक्त खण्डमा हाल सडक विस्तारको काम बजेट अभावका कारण रोकिएको हो ।
सरकारले मुआब्जाका लागि बजेट नदिँदा हालसम्म सो सडकखन्डको काम रोकिएको छ । अदालतले सडकमा पर्ने घर तथा जग्गाको क्षतीपूर्ती दिएर मात्र काम सुरु गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशका कारण काम अघि बढ्न नसकेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
सरकारले पैसा नदिएकै कारण हालसम्म क्षतीपूर्ती चुक्ता गर्न नसकेको प्राधिकणका सुचना अधिकारी केशवप्रसाद न्यौपानेले बताए । ‘सरकारले पैसा दियो भने बन्छ, दिएन भने बन्दैन त्यही हो कुरो, कहिले बन्छ भन्नै सकिदैन,’ न्यौपानेले मेरोअटोसँग भने ।
उनकाअनुसार सरकारले जति छिटो क्षतीपूर्तीको लागि रकम दिनेछ त्यती छिटो सो खन्डको काम सुरु हुनेछ । प्राधिकरणले विस्तार हुँदै गरेको सडक खन्डहरुमा घर तथा जग्गाको क्षतीपूर्तीका लागि ६० करोड रुपैयाँ माग गरेको प्राधिकरण अन्तर्गत सहरी विकाश आयोजना प्रमुख दिलिप भण्डारीले जानकारी दिए ।
चाबहिल–साँखु सडक खण्डका लागि ११ करोड, कंलकी थानकोटका लागि ४२ करोड र काठमाडौंका अन्य सडक ठाउँका लागि १४ करोड रुपैयाँको हाराहारीमा बजेट माग गरिएको प्राधिकरणका लेखा अधिकृत तोरन कार्कीले जानकारी दिए ।
उनकाअनुसार हालसम्म ४ सय ५० भन्दा बढी घरहरुले क्षतीपूर्ती मागका लागि आवेदन दिएका छन् । जोरपाटी–सुन्दरीजल सडकखन्डमा मुआब्जाकै कारण १ वर्षदेखि काम हुन सकेको छैन् । गत वर्ष प्राधिकरणले ५ करोडको हाराहारीमा मुआब्जा दिएको थियो ।
पर्याप्त बजेट नहुँदा क्षतीपुर्ती दिन नसकेको र क्षर्ती पूर्ती नदिएकै कारण जोरपाटी–सुन्दरीजल विस्तारको काम ठप्प भएको प्राधिकरणले जानकारी दिएको छ ।
उक्त सडकखन्ड विस्तारका लागि २ ठेकेदार कम्पनीले जिम्मा लिएका छन् । ७ किलोमिटर लम्बाई रहेको जोरपाटी–सुन्दरीजल सडकका लागि ५४ करोड ६८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्टाइएको थियो ।
२०७३ असारमा सुरु भएको सो सडकखन्ड विस्तारको क्रममा ६ करोड ७३ लाख ७६ हजार रुपैयाँ रकम खर्च भइसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
उक्त खन्डको निर्माण अवधिसमेत सकिसकेको छ । म्याद सकिएकाले समय थपका लागि सम्बन्धीत निकायमा निवेदन गरिएको आयोजनाले जानकारी दिएको छ ।


