काठमाडौंबाट हेटौंडा २ घण्टामा, यस्तो छ कान्ति लोकपथ (भिडियोसहित)

काठमाडौं । ६ दशक अघिबाट खोल्न सुरु गरिएको काठमाडौं-हेटौडा जोड्ने छोटो दुरीको सडक स्तारोन्नतीको काम धमाधम भइरहेको छ । लामो समयसम्म छाँयामा परेको कान्ति लोकपथमा अब दुइतर्फि मोटर गुड्ने सक्ने बन्दैछ । यो परियोजना सम्पन्न भए पश्चात काठमाडौंबाट ९० किमी दूरीमा रहेको हेटौंडा २ घण्टामै पुग्न सकिने छ ।

ऐतिहासिक मकवानपुर गढीसमेत पर्ने यो सडकखण्डको स्तरोन्नति हुन थालेसँगै आसपासका क्षेत्रमा चहलपहल बढ्न थालेको छ।

प्रदेश नम्बर ३ को राजधानी हेटौंडा जोड्ने यो सडक ५१ किमी सडकखण्ड मकवानपुर जिल्लामा र बाँकी ३९ किमी ललितपुर जिल्लामा पर्दछ। मकवानपुरतिर ९ वटा चेनेजहरु छन्। बुद्धचोकबाट चौघडा ४.५ किलोमिटर छ।

चुच्चेखोलासम्म आइपुग्दा ७.५किमी, हटिया १० किमी, शिखरकटेरी ११.५०० किमी, मकवानपुरगढी १७.५०० किमी, जितपुर २२ किमी, सिमात २९ किमी, ठिङगन ४२ किमी, बगुवा बागमती खोला ५१ किमीमा पर्छ। मकवानपुरमा पर्ने सडकको लगभग सबै खण्ड पीच भइसकेको छ । केही स्थानमा पीच गर्ने काम धमाधम भइरहेको छ । बगुवा खोलादेखि ७ किलोमिटर बाटो सम्माउने काम भइरहेको छ भने, अन्य स्थानमा कुनै समस्या रहेको छैन ।

बगुवाबाट काल्चे, छपेली, झाँक्रीडाँडा, तिनपाने, टीकाभैरव, चापागाँउ, सातदोबाटोसम्म ३९ किलोमीटर रहेको छ । यो सडकखण्डको धेरै जसो सडक पीच भइसकेको छ । टीकाभैरवदेखि बगुवासम्मको सडकखण्ड पहिरोको चपेटामा पर्ने गरेको छ । यो खण्डको हरेक १०० मिटर जस्तोमा पहिरो रहेको छ ।

अधिकांश खण्डमा धमाधम काम भइरहेको छ। बग्न सक्ने सम्भावित स्थानको पहिचान गरी ढलान बनाउने काम तिब्रगतिमा भइरहेको छ ।

केहि स्थानमा सडकलाई सुरक्षीत बनाउने र बर्खामा पहिरो जान सक्ने सम्भावित र साँघुरा स्थानहरुमा मेसिनरी वाल लगाउने ,नालाहरु बनाउने काम पनि भइरहेको छ। अहिले १० वटा प्याकेजमा ठेक्का लगाएर काम भइरहेको आयोजनाले जनाएको छ।


Back_to_top