माघमा तीन नयाँ मोडल नेपाल ल्याउँदै रेनो

काठमाडौं । रेनोको आधिकारीक वितरक एडभान्स अटोमोबाइलले तीन नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि नै जनवरीमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको थियो ।

कम्पनीले रेनोको नयाँ एमपीभी ट्राइबर माघको पहिलो हप्तामा सार्वजनिक गर्ने तयारी गरिरहेको छ भने फेसलिफ्ट डस्टर र क्वीड भने माघको तेस्रो हप्तामा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले आफ्नो चर्चित मोडल डस्टर फेसलिफ्ट तिहार लगत्तै बजारमा ल्याउने तयारी गरेको भएपनि केही प्रविधिक कारणले माघ तेस्रो साता सार्वजनिक गर्ने भएको हो । अब कम्पनीले फेसलिफ्ट मोडल डस्टर र रेनो क्वीडलाई एकै पटक बजारमा उतार्ने तयारी गरेको हो ।

नयाँ मोडल ट्राइबर

भारतीय बजारमा २०१९ अगस्त २८ तारिखमा सार्वजनिक भएको रेनो ट्राइबर नेपालपनि गत नाडा अटो शोमा शोकेस गरिएको थियो ।

ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तिन भेरियन्टमा उपलब्ध हुनेछ । तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ ।

आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ ।

उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।

कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँबाट सुरु हुने जनाएको छ । कम्पनीले आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यस्तो छ नयाँ क्वीड फेसलिफ्ट

फेसलिफ्ट क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस लगाइएको छ । यसमा अपग्रेटेड १४ इन्चको अलोय ह्वील लगाइएको छ । नयाँ क्वीडको टपस्पेक क्लाइम्बर भेरियन्टमा फ्रन्ट र रियरमा स्किड प्लेटको विशेषता दिइएको छ ।

कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरेको छ । यसको तौल पुरानो मोडलको भन्दा ३५ देखि ४० किलोग्राम बढेको कम्पनीले जनाएको छ । यसको लम्बाई पुरानाको भन्दा ५२ एमएम बढी रहेको छ । यसको बम्परलाई र ह्वीलवेशलाई परिमार्जन गरिएको छ ।

यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्याशबोर्ड लगाइएको छ । क्विडमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमको विशेषता समेटिएको छ ।

रियरमा पावर विन्डो लगाइएको छ भने, फ्रन्टमा प्यासेन्जर एयरब्याग दिइएको छ । यसमा रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, ड्राइभर एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम दिइएको छ ।

पुरानो जस्तै नयाँ फेसलिफ्ट मोडल पनि ०.८ लिटर र १.० लिटर पेट्रोल इन्जिन गरि दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यसमा उपलब्ध ८०० सीस क्षमताको इन्जिनले ५४ पिएस पावरका साथै ७२ एनएम टर्क उत्पादन गर्छ । साथै, ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । दुबै इन्जिनमा पाँच स्पीड म्यानुअल ट्रान्समिसन र अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

डस्टर फेसलिफ्ट

डस्टर फेसलिफ्टको एक्सटेरियरमा नयाँ प्रोजेक्टर हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रि–डिजाइन क्रोम फ्रन्ट ग्रिल, रि–डिजाइन फ्रन्ट बम्पर जस्ता परिवर्तन सहजै देख्न सकिने छ ।

रेगुलर मोडलको तुलनामा आकर्षक तरिकाले अगाडि र पछाडि स्किड प्लेट जोडिएको छ । यसमा दिइएको नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वीलले एसयूभीलाई निकै ग्रान्ड देखाएको छ ।

कम्पनीले पुरानोको तुलनामा नयाँ मोडलको क्याबिनमा प्रिमियम बनाउन कुनै कसर छाडेको छैन । यसमा दिइएको नयाँ स्टेयरिङ ह्वील, एङ्गुलर एसी भेन्ट, ब्राउन फ्रेब्रिक अपहोलस्ट्रीक, फक्स आल्म्युनियम ट्रिम, क्रोम एन्ड ग्लस ब्ल्याक बिटजस्ता फिचर उपलब्ध रहेको छ ।

एसयूभीमा कम्पनीले ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड अटो, एप्पल कार प्लेको फिचर दिइएको छ ।

यसको मिडस्पेक आरएक्स ९०० ट्रिममा अल ह्वील ड्राइभको फिचर दिइएको छ भने फुल्ली लोडेड आरएक्सजेड भेरियन्टमा अल ह्वील ड्राइभको फिचर प्रदान गरिएको छ ।

यस मोडलमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट आर्मेष्ट, इलेक्ट्रीकल्ली फोल्डेबल ओआरभीएमएस, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा र रियर वाइपरको विशेषता दिइएको छ । यसको टप स्पेक आरएक्सजेड भेरियन्टमा डिजेल एएमटीको विशेषता दिइएको छ ।


Back_to_top