काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले यसअघि बुकिङ खुल्ला गरेको अपडेटेड एनएस सिरिजका दुई मोडल काठमाडौं आइपुगेको छ । कम्पनीले पल्सर एनएस १६० र २०० को अपडेटेड भर्सन ल्याएको हो ।
कम्पनीले आजबाटै उपत्यकाका डिलर नेटवर्क मोटरसाइकल पढान सुरु गरेको जनाएको छ । सम्भवत आगामी शुक्रबारदेखि नयाँ मोटरसाइकलको बिक्री सुरु हुनेछ ।

‘अहिले केही यूनिट मात्रै काठमाडौं आइपुगेको छ । उपत्यका भित्रका डिलरकोमा मोटरसाइकल पुगेपछि आधिकारीक बिक्री सुरु हुन्छ’, कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले मेरोअटोसँग भने ।
साउन पहिलो हप्तादेखि देशभर नै अपडेटेड पल्सर एनएस सिरिजका दुई मोडल उपलब्ध हुने गोल्छाले बताए ।

कम्पनीले यसअघि नै यी दुबै मोटरसाइकल आफ्नो आधिकारीक वेभसाइटमा राखेर मूल्यसमेत घोषणा गरिसकेको थियो । पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेर अहिले बुकिङ दिइरहेको छ ।

बजाजले दुवै नयाँ मोटरसाइकलको अगाडि ३३ एमएमको यूएसडी फर्क दिइएको छ । यी मोटरसाइकलमा ब्रेक भने एन २५० बाट लिएको हो । दुवै मोटरसाइकलको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

बजाजले प्रयोग गर्दै आएको बाइब्री क्यालिपरलाई ग्रिमिका क्यालिपरले रिप्लेस गरेको छ । साथै, दुवै मोटरसाइकलमा गियर पोजिशन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील पाउन सकिन्छ ।



