पावर र फिचरमा सेग्मेन्ट लिडर ‘एक्सयूभी-३००’ (मूल्यसहित)

काठमाडौं । अहिले पनि सब फोर मिटर सेग्मेन्टका एसयूभी सबैभन्दा धेरै बिक्री हुने मोडल हुन् । यो सेग्मेन्टको सुरुवात गर्ने फोर्ड इको स्पोर्टस् सधैंको लागि बन्द भइसकेको छ ।

सन् २०१३ बाट नेपालमा सब फोर मिटर एसयूभी आउन थालेको हो । अहिले चल्तीका हरेक ब्राण्डसँग यो सेग्मेन्टका एसयूभी छन् भन्दा फरक पर्दैन ।

मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, निसान म्याग्नाइट, हुन्डाई भेन्यू, किया सोनेट, रेनो काइगर र महिन्द्रा एक्सयूभी ३०० अहिले नेपालमा उपलब्ध सब कम्प्याक्ट एसयूभी हुन् ।

निकै प्रतिस्पर्धी सेग्मेन्ट मानिएको ४ मिटरभन्दा छोटा एसयूभीमा महिन्द्रा एक्सयूभी ३०० सर्वाधिक पावरफुल इन्जिन भएको मोडल हो । मूल्यको हिसावले पनि अन्य प्रतिस्पर्धी सरह नै छ ।

अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ३०० टर्बो स्पोर्टस् मोडल विभिन्न चार भेरियन्टमा बिक्री गर्दै आएको । जसमा एक्सयूभी ३०० डब्लू-४ भेरियन्टको मूल्य ४२ लाख ९५ हजार रुपैयाँ, डब्लू-६ को मूल्य ४९ लाख ९५ हजार रुपैयाँ, डब्लू-८ भेरियन्टको ५७ लाख ५० हजार र डब्लू-८ (अप्सनल) भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले एक्सयूभी ३०० टर्बो स्पोर्टस् भेरियन्टमा ११९७ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १३० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसको स्पीड पनि सेग्मेन्टकै उत्कृष्ट रहेको छ । यसले ५ सेकेन्डमा ० देखि ६० किमि प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।

सिंगल टोन र ड्यूल टोन कलर अप्सनमा उपलब्ध एक्सयूभी ३०० को नयाँ मोडलको क्याविन रातो र कालो कलरको मिश्रणबाट तयार गरिएको छ । यसमा थुप्रै क्रोमको प्रयोग गरिएको छ ।

यसमा एन्टि-पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, ड्यूल-जोन अटोमेटिक कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, अटो हेडल्याम्प, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री पाउन सकिन्छ ।

सुरक्षाको लागि थुप्रै आधुनिक फिचर उपलब्ध यो एसयूभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । चारवटै चक्कामा डिस्क ब्रेक, अगाडि र पछाडि नै पार्किङ सेन्सर, ७ वटासम्म एयरब्याग रहेकाे छ ।


Back_to_top