काठमाडौं । नेपालको काठमाडौंबाट चीनको स्वशासित क्षेत्र ल्हासासम्म पुनः सिधा बस सेवा संचालन गर्ने सहमित भएको छ । चीनको ल्हासामा सम्पन्न नेपाल–चीन तेस्रो वाणिज्य सचिव स्तरीय बैठकमा यस्तो सहमति भएको हो ।
दुई देशपछि २ दशकपछि पुनः सिधा बस सेवा संचालन गर्ने सहमति भएको हो । २००५ मा सुरू भएको काठमाडौं-ल्हासा बस सेवा केही महिनामै बन्द भएको थियो ।
बस संचालन गर्ने सम्बन्धी थप विषय (बस कम्पनी, टिकट बिक्री, प्रस्थान बिन्दु, रोकिने स्थान लगायत)को टुंगो चिनियाँ पक्षसँग थप छलफल गरी नेपाली महावाणिज्यदूतावासले लगाउने छ ।
त्यस्तै, बैठकमा द्विपक्षीय व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण, प्राविधिक सहकार्य र व्यापार पूर्वाधार विकास सम्बन्धी विविध विषयमा बृहत छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, बैठकमा सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौताको समसामयिक संशोधन, व्यापारी, चालक र सहचालकका लागि सीमा प्रवेश पास सरलीकरण, टोखा-छहरे सुरूङ निर्माण प्रक्रियालाई तीव्रता, रासायनिक मल आयातका लागि कोटा निर्धारण, संखुवासभाको सीमानाका किमाथांका छेन्ताङ जोड्ने सडक र आइसीपी निर्माण, रसुवाको टिमुरेस्थित आइसीपी निर्माण, मुस्ताङको कोरला नाकाको दुवैतर्फ भन्सार प्रक्रिया सहज बनाउने, कोरला नाकामा आइसीपी निर्माण गर्ने लगायत समेत छलफल भएको थियो ।

