काठमाडौं । किया मोटर्सले भारतीय बजारमा आफ्नो कम्प्याक्ट एसयूभी सेल्टोसको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । गतवर्ष दक्षिण कोरियाको बुसान अटो शोमा देखाएको सेल्टोसको फेसलिफ्ट मोडल भारतमा पनि सार्वजनिक गरेको हो ।
आगामी जुलाई १४ बाट बुकिङ गर्न सकिने सेल्टोस फेसलिफ्टमा ३२ प्रकारका नयाँ सेफ्टी फिचर सहित एडास २.० फिचर थप गरिएको छ । भारतमा बिक्री सुरु भएपछि नयाँ सेल्टोस नेपाल पनि आउने छ ।
अगाडि फेसियामा नयाँ डिजाइनको बम्पर, नयाँ स्कीड प्लेट, नयाँ डिजाइनको डिआर एल र एलइडी हेडलाइट दिइएको छ । रियरमा पनि एलइडी टेललाइट तथा टेलगेटमा एलइडी लाइटबार, डबल एक्जस्ट पाइप थपिएको छ । कियाले नयाँ सेल्टोसमा १८ इन्चको कृष्टल कट ग्लसी व्ल्याक अलोय ह्वील दिएको छ ।
पहिलो पटक प्यानारोमिक सनरुफ फिचर थपिएको सेल्टोसमा ड्यूलजोन अटोमेटीक क्लाइमेट कन्ट्रोल, एम्वियन्ट मुड लाइट तथा एयर प्यूरीफायर समेत दिइएको छ । क्यावीनमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १०.२५ इन्चकै एलेक्सा पावर्ड किया स्मार्ट होम कनेक्ट फिचर, ३६० डिग्री क्यामरा, एट–वे एड्जस्टेवल डाइभर सिट, भेन्टीलेटेड फ्रन्ट सिट जस्ता प्रिमियम फिचर थपिएको हो ।
कियाले नयाँ सेल्टोसमा केकोड डेलिभरी सिस्टम अपनाउने भएको छ । जस अनुसार पहिला किया सेल्टोसका ग्राहकले खरिद गर्न चाहेमा पहिलो प्राथमिकता पाउनेछन् ।
फेसलिफ्ट किया सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल गरी तीन इन्जिन अप्सनमा उपलब्ध हुनेछ । यसमा ६ स्पीड म्यानुअल, सीभीटी, ६ स्पीड टर्क कन्भर्टर, आइएमटी र ७ स्पीड डिसीटी गियरबक्स अप्सनमा पाइन्छ ।
नयाँ सेल्टोस एक्स लाइन, जीटी लाइन र टेक लाइन गरी ३ फरक ट्रिममा लन्च भएको हो । कम्पनीले यसलाई आकर्षक ८ कलर, ड्यूलटोनका साथै एक्सक्लुसीभ म्याट ग्राफाइट भेरियन्टमा उपलब्ध गराएको छ ।

