काठमाडौं । दक्षिण कोरियाली ब्राण्ड कियाले आफ्नो चर्चित मोडल निरोको नयाँ जेनेरेशन मोडल तयार पारेको छ । कम्पनीले प्लग इन हाइब्रिड र प्योर इलेक्ट्रीक मोडलको रूपमा कियाले निरोलाई बजारमा ल्याएको हो ।
न्यू इनर्जी भेहिकलमा निकै आक्रमक बजार विस्तार गर्दै आएको कियाले निरोको डिजाइन नै व्यापक परिवर्तन गरेको छ । कम्पनीले नयाँ निरोको अगाडिको फेसियामा पूरै परिवर्तन गरेको हो ।
पछाडिको भागमा पनि व्यापक परिवर्तन गरिएको छ । यसको टेल लाइट, स्पोइलर र बम्परमा पनि परिमार्जन भएको छ । साइड बडीमा पनि परिवर्तन गरिएको गाडीमा बडी क्लाडिङ र ह्वील पनि विल्कुलै नयाँ डिजाइनमा पाउन सकिन्छ ।
नयाँ निरोको ड्यासबोर्ड पनि विल्कुलै नयाँ पाउन सकिन्छ । यसमा १२.३ इन्चको दुई स्क्रीन सेटअप उपलब्ध छ । नयाँ स्टेरिङ ह्वील, रोटरी डायल गियर नब, प्रिमियम सिट जस्ता कुरा दिइएको छ ।

कियाले प्लगइन हाइब्रिड मोडलमा १.६ लिटर पेट्रोल इन्जिन र ११.१ किलोवाट आवको ब्याट्री दिएको छ । यसको इलेक्ट्रीक रेन्ज ५५ किलोमिटर छ ।
प्योर ईभी मोडलमा भने ६४.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०८ किलोमिटर रेन्ज दिनेछ ।

नेपाली बजारमा यसअघि केही युनिट उपलब्ध किया निरो ईभी अन्तर्राष्ट्रिय बजारमा उपलब्ध भए पनि यहाँ बिक्री हुन सकेको छैन । कन्टिनेन्टल ट्रेडिङले बिक्रीपछिको सेवामा राम्रो काम गर्न नसक्नु र मूल्य पनि चिनियाँ ईभीको तुलनमा महँगो हुनुको कारण कियाका ईभीले नेपाली बजारमा स्थान बनाउन सकेका छैनन् ।

