काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत सुरुङ खन्ने काम आधा बढी सकिएको छ ।
७०.९७७ किलोमिटर लामो फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरुङ निर्माणाधीन छ । सोमध्ये पुस मसान्तसम्म खन्ने काम समग्रमा ५४.४७ प्रतिशत सकिएको हो । अर्थात् ५.९८ किमी सुरुङ खनिसकिएको हो ।
नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतले हाल सात वटै सुरुङ निर्माणको काम भइरहेको जानकारी दिए । उनका अनुसार सात मध्ये लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ ।
त्यस्तै, फास्ट ट्रयाककै सबैभन्दा लामो ३३५५ मिटरको महादेवटार सुरुङ खन्ने काम करिब ६९ प्रतिशत सकिएको उनले बताए । डिजाइन संशोधन गरी पछि ठेक्का लगाइका चार सुरुङको प्रगति भने कम रहेको उनले बताए ।
‘फास्ट ट्रयाकको ७ स्थानमा सुरुङ निर्माण भइरहेको छ । दुई वटा (धेद्रे र लेनडाँडा) ब्रेक थ्रु भइसकेको छ । महादेवटारको दुईतिहाई बढी खनिसकिएको छ,’ उनले मेरोअटोसँग भने, ‘त्यस्तै, चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीर सुरुङ खन्ने काम धमाधम भइरहेको छ । यी सुरुकाे गत आवमा मात्रै ठेक्का लगाइएकाले प्रगति कम छ ।’
फास्ट ट्रयाकको कुल लम्बाइको १५.४६ प्रतिशतखण्ड सुरुङमार्ग रहेको छ । सातै ठाउँमा सवारी साधन जाने र आउने छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका हुन् ।
कुनको कस्तो छ प्रगति अवस्था ?
१. महादेवटार सुरुङ : यो फास्ट ट्रयाककै सबैभन्दा लामो सुरुङ हो । सूचना अधिकारी बस्नेतका अनुसार ३३५५ मिटर लामो महादेवटार सुरुङ खन्ने काम पुस मसान्तसम्म ६९ प्रतिशत सकिएको छ ।
महादेवटार सुरुङको बाँयातर्फ ३३८६ मिटर मध्ये हालसम्म २५०० मिटर (७४ प्रतिशत) र दाँयातर्फ ३३२२ मिटरमध्ये २११९ मिटर (६४ प्रतिशत) खनिसकिएको छ । चालु आव भित्रै यो सुरुङ ब्रेक थ्रु गरिने लक्ष्य राखिएको उनले बताए ।
महादेवटार सुरुङमा सेकेन्डरी लाइनिङ (भित्तो प्लाष्टर)को काम पनि सँगसँगै भइरहेको छ । हालसम्म दायाँतर्फ ५११ मिटर र बाँयातर्फ ११९६ मिटर सेकण्डरी लाइनिङको काम सकिएको उनले सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

‘महादेवटार सुरुङ खन्ने काम ६९ प्रतिशत सकियो । सँगसँगै सेकेण्डरी लाइनिङको काम पनि भइरहेको छ । बाँयातर्फ ११९६ मिटर र दाँयातर्फ ५११ मिटर लाइनिङ सकियो,’ उनले भने । यसको ठेक्का (सडक र पुलसहित) चाइना स्टेट कम्पनीले २१ अर्ब ६१ करोड रुपैयाँमा पाएको छ ।
२. धेद्रे सुरुङ : ११९० मिटर लामो यो सुरुङ २०८१ साउनमै ब्रेक थ्रु भएको थियो । धेद्रेमा दाँयातर्फ १६५३ मिटर र बाँयातर्फ १७२८ मिटरको सुरुङ रहेको छ । यो सुरुङमा लाइनिङको काम पनि ६० प्रतिशत बढी सकिएको सूचना अधिकारी बस्नेतले बताए ।
उनका अनुसार हालसम्म बाँयातर्फ १७२८ मिटरमध्ये १०५८ मिटर र दाँयातर्फ १६५३ मिटरमध्ये १०५० मिटर लाइनिङको काम समेत सकिएको छ । लाइनिङ काम सकिएपछि इन्भर्ट र उपकरण जडान काम सुरू हुनेछ ।
३. लेनडाँडा सुरुङ : १६२२ मिटर लामो लेनडाँडा सुरुङ २०८१ असारमै ब्रेक थ्रु गरिएको थियो । यसमा पनि हाल धमाधम सेकण्डरी लाइनिङको काम भइरहेको बस्नेतले जानकारी दिए ।
उनका अनुसार लेनडाँडा सुरुङको लाइनिङको काम ९३ प्रतिशत सकिएको छ । १६२२ मिटरमध्ये समग्रमा १५१७ मिटर लाइनिङ गरिसकिएको छ । जसमा दाँयातर्फ १५२३ मिटर र बाँयातर्फ १५१२.८० मिटर लाइनिङ गरिसकिएको छ । यसमा पनि लाइनिङ काम सकिएपछि इन्भर्ट र उपकरण जडान काम सुरू हुने उनको भनाइ छ ।
४. चन्द्राम भीर सुरुङ : यो फास्ट ट्रयाकको दोस्रो लामो सुरुङ हो । २२५० मिटर लामो यो सुरुङ पछि डिजाइन संशोधन गरी थपिएको हो भने गत वर्षदेखि काम थालिएको थियो ।
चन्द्राम भीर सुरुङको दुवैतर्फ खन्न सुरू गरिएको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हालसम्म बाँयातर्फ ३७५ मिटर र दाँयातर्फ २८७ मिटर खनिसकिएको छ । आगामी वर्ष भित्र यो सुरू निर्माण सक्ने लक्ष्य राखिएको छ ।

५. देवीचौर सुरुङ : १ किलाेमिटर लामो देवीचौर सुरुङ चालु आवदेखि खन्न थालिएको हो । पुससम्म बाँयातर्फ १०७५ मिटर मध्ये ८ मिटर खनिएको छ । दाँयातर्फ ११०० मिटर सुरुङ खन्न पोर्टल निर्माणको कार्य भइरहेको र चाँडै खन्न सुरू गरिने बस्नेतले बताए ।
६. सिसौटार सुरुङ : ५२० मिटर लामो यो सुरुङको पनि एकातर्फ खन्न सुरू गरिएको छ । दाँयातर्फ ४८० मिटर लामो सुरुङ निर्माण हुनेछ । जसमा हालसम्म ७ मिटर खनिसकिएको छ । बाँयातर्फ ५६० मिटर लामो सुरुङ बन्ने छ । यसको पोर्टल निर्माण भइरहेको र चाँडै खन्न सुरू गरिने सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
७. मौरीभीर सुरुङ : ५८३ मिटर लामो यो सुरुङ हालसम्म खन्न सुरू गरिएको छैन । अहिले सुरुङ खन्नु पूर्व आवश्यक पर्ने पोर्टल निर्माण भइरहेको बस्नेतले जानकारी दिए । आगामी एकडेढ महिना भित्रै खन्न सुरू गरिने जनाइएको छ । मौरीभीरमा दाँयातर्फ ६६३ मिटर र बाँयातर्फ ५३५ मिटर लामो सुरुङ निर्माण हुनेछ ।
यी सातै सुरुङ २०८३ चैत भित्रै निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । ६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने २०७४ देखि सुरू गरिएको यस आयोजनाको प्रगति भने अपेक्षित छैन । ७०.९७७ किलोमिटर लामो यस सडकको ८ वर्षमा भौतिक प्रगति ४५.१३ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ । आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८३ चैतसम्म रहेको छ ।

