चर्चामा बालेन चढेको डिफेन्डर, यस्तो छ गाडी

काठमाडौं । बालेन शाह अर्थात् सधैं चर्चामा रहने पात्र । २०७९ मा सबैलाई चक्मा खुवाउँदै काठमाडौंको महानगरपालिकाको मेयर निर्वाचित भए यता उनी चर्चाको शिखरमै छन् । चाहे काम गरेर होस् वा सामाजिक संजालमा स्ट्याटस लेखेर ।

निर्वाचित भए यता विरलै बाहेक सार्वजनिक कार्यक्रममा नदेखिने बालेन एक साता यता दैनिक जनतासँग छन् । यो धेरैका लागि अचम्मको विषय समेत हो । यो अवस्था पछिल्लो विकसित राजनीतिक घटना क्रमले ल्याएको हो । अर्थात् उनी स्वतन्त्रबाट पार्टी राजनीतिमा सक्रिए भएसँगै आएको हो ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा होमिएका छन् । त्यो पनि चारपटक प्रधानमन्त्री बनिसकेका खड्गप्रसाद ओलीको प्रतिस्पर्धी बनेर । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा ओलीको लालकिल्ला झापा क्षेत्र नम्बर ५ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।

उनी ओलीविरुद्ध निर्वाचन लड्न गएसँगै झापा अहिले निर्वाचनको इपिसेन्टर बनेको छ । बालेन चुनाव अभियानका लागि पुस ५ गते झापा गएका थिए । कोशीको झापादेखि पाँचथरसम्म पुगेका छन् । उनका हरेक गतिविधिले सामाजिक संजाल र संचारमाध्यममा स्थान पाइरहेका छन् ।

यसैक्रममा अहिले बालेनले चढेको एउटा गाडी बहस र चर्चामा आएको छ । उक्त गाडी हो बागमती प्रदेश ०१–०३३ च४३४३ नम्बरको ब्रिटिस ब्राण्डको ल्याण्ड रोभर डिफेन्डर । सामाजिक संजालमा ८ करोड रुपैयाँ पर्ने महँगो बुलुट प्रुफ गाडी चढेर हिँडेको भन्दै विरोध भइरहेको छ । धेरैले यति महँगो गाडी कसरी किने ? त्यसको स्रोत समेत खोजिरहेका छन् ।

तर, उक्त गाडी बालेन स्वयम्ले भने किनेका होइनन् । उनलाई चुनावी अभियानमा चढ्न व्यावसायिक घरानाले उपलब्ध गराएको हो । उक्त गाडी यातायात व्यवस्था कार्यालय सानाठूला सवारी, एकान्तकुनामा त्रिमूर्ति इण्डिष्ट्रिज प्रालिको नाममा दर्ता छ । उक्त गाडी २०८२ कात्तिक २५ गते दर्ता भएको थियो ।

उक्त गाडीको मूल्य नेपाली बजारमा साढे ४ करोड रुपैयाँ रहेको बिक्रेता काइरस इन्टरनेसनलले जनाएको छ । कम्पनीले सन् २०२५ मा उक्त गाडी ४ युनिट नेपाल ल्याएको थियो ।

यस्तो छ गाडी

रेन्ज रोभर डिफेन्डर माइल्ड हाइब्रिड कार हो । यसमा ट्वीन टर्बोचार्ज्ड ३.० लिटर डिजेल इनलाइन ६ सिलिण्डर इन्जिन छ । यसले ३०० हर्सपावर तथा ६५० न्युटन मिटरसम्म टर्क प्रदान गर्छ ।

अल ह्वील ड्राइभ सिस्टम भएको यो गाडीमा ८ स्पीड अटोमेटिक गियर छ । बोल्ड बक्स डिजाइनको यो एसयूभीमा एलईडी हेडलाइट र टेललाइट छ ।

यसमा १३.१ इन्च पीभी प्रो इन्फोटेन्मेन्ट, डिजिटल ड्यासबोर्ड, वायरलेस चार्जिङ, हिटेड/कुल्ड सिटर, सराउण्ड क्यामेरा, एडाप्टिभ क्रुज, एयर सस्पेन्सन, पानारोमिक रुफ, लक्जरियस लेदर इन्टेरियर छ ।


Back_to_top