काठमाडौं । स्विडिस ब्राण्ड भोल्भोको नयाँ प्लेटफर्म ‘एसपीएथ्री’मा बनेको ‘ईएक्स-६०’ एसयूभीले सिंगल चार्जमा ८१० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
भोल्भो ‘ईएक्स-६०’लाई कम्पनीले तीन ब्याट्री अप्सनमा बजारमा ल्याउने छ । कम्पनीले यसलाई ८३ किलोवाट आवर, ९५ किलोवाट आवर र ११७ किलोवाट आवर क्षमताका ब्याट्री प्रयोग गरेको छ । यसको सबैभन्दा ठूलो ब्याट्री अप्सन भएको मोडलले सिंगल चार्जमा ८१० किलोमिटर रेन्ज दिनेछ ।
ईएक्स-६० एसयूभी भोल्भोको इएक्स ३० जस्तै तर, ठूलो साइजको मोडल हो । कम्पनीले यसमा २७९ किलोवाटदेखि ५०७ किलोवाट क्षमतासम्मको मोटर प्रयोग गरेको छ ।
निकै तीव्र क्षमताको डीसी चार्जर सपोर्ट गर्ने ‘इएक्स-६०’ एसयूभीलाई ४०० किलोवाटको चार्जरले २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसले २२ किलोवाटसम्मको एसी चार्जर पनि सपोर्ट गर्नेछ ।

भोल्भो ईएक्स-६० एसयूभीको क्याविन पनि निकै आकर्षक छ । यसमा १५ इन्चको टच स्कृन, ११.४ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, टु स्पोक स्टेरिङ ह्वील, २१ स्पीकरसहित बोसको अडियो सिस्टम, हिटेड र भ्यान्टिलेटेड सिट, जिमिनी एआई एसिस्ट जस्ता फिचर छन् ।

