काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक जिली ग्रुपले आफ्नै लगानीमा सोलिड स्टेट ब्याट्री प्याक तयार पारेको छ । कम्पनीको दाबी अनुसार सन् २०२६ को अन्तिमबाट यसको व्यवसायिक उत्पादन सुरू हुनेछ ।
जिलीको भनाइ लिँदै ‘२१ फाइनान्स’ले प्रकाशित गरेको रिपोर्ट अनुसार कम्पनीले अल सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने र गाडीमा प्रयोग गर्ने दुवै काम २०२६ को अन्तिमसम्ममा पूरा हुनेछ । यद्यपि, जिलीको लगानी रहेको कुन ब्राण्ड वा प्लेटफर्ममा उक्त ब्याट्री पहिला प्रयोग हुन्छ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।
जिलीले ब्याट्री उत्पादनको लागि झेजियाङ जियाओ टोङ्क्सिङ इनर्जी टेक्नोलोजी अन्तर्गत धेरै काम अगाडि बढाइरहेको छ । विगतमा ग्यालेक्सी इएक्स फाइभमा प्रयोग भएको एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री बनाएको थियो ।
अल सोलिड स्टेट ब्याट्री टेक्नोलोजीमा पनि विगत धेरै वर्षदेखि अध्ययन र अनुसन्धान गर्दै आएको जिलीले सफलताको नजिक आफूलाई पुर्याएको हो । कम्पनीको अल सोलिड ब्याट्रीको इनर्जी डेन्सिटी ४०० किलोवाट केजी रहनेछ । जुन अहिले प्रयोगमा रहेको एलएफपी ब्याट्रीको भन्दा दोब्बर हो । त्यसैले सोलिड स्टेट ब्याट्रीको रेन्ज अहिलेको तुलनामा दोब्बर हुनेछ ।
चिनियाँ थुप्रै उत्पादकहरूले सोलिड स्टेट ब्याट्रीमा काम भइरहेको जनाएका छन् । डोङफेङ, चेरी, सुनवोदा, एसएआईसी जस्ता ब्राण्डले सोलिड स्टेट ब्याट्रीमा थप काम गर्दै आएका छन् । यी सबै कम्पनीको लक्ष्य सन् २०२६ को अन्तिमसम्ममा सोलिड स्टेट ब्याट्रीको प्रयोग गरेर कार बजारमा उतार्ने रहेको छ ।

