विश्वमा आफ्नो कार वा मोटरसाइकललाई अलग बनाउन उत्पादक कम्पनीहरुको बीचमा निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । कुनै समय आकाशमा प्लेनबाहेक अन्य साधन उड्ने कल्पना कमैले गरेका थिए होलान् । अब आकाशमा प्लेन मात्र होइन कार र मोटरसाइकल पनि उड्ने भएका छन् ।
केही समयअघि अमेरिकी कम्पनी ‘पाल–भी’ले उड्ने कारको परिक्षण गरेको थियो । अब भने उड्ने मोटरसाइकलको प्रोटोटाइप बाहिर आएको छ । फ्रान्सेली कम्पनी ‘लार्जरेथ’ले उड्ने मोटरसाइकल बनाएको हो ।
कम्पनीले लार्जरेथ ‘एलएमभी–४९६’ नाम दिएको उक्त मोटरसाइकल हावामा उड्न सक्ने छ । यसलाई सडकमा गुडीरहेको अवस्थाबाटै उडाउन सकिने कम्पनीले जनाएको छ । इलेक्ट्रीक मोटर जडान भएको यो मोटरसाइकल हावामा उड्ने समयमा जेट प्रोपल्जन इन्जिनको प्रयोग हुने गर्छ र यसलाई इन्धनको मद्दतले उडाइन्छ । यसलाई हावामा १० मिनेटसम्म उडाउन सकिने कम्पनीले जनाएको छ ।
एलएमभी ४९६ मा दिइएको जेट इन्जिनले हवाईजहाजमा प्रयोग हुने जस्तै रहेको छ । अहिले यसको ५ यूनिट प्रोटोटाइप तयार गरिएको कम्पनीले जनाएको छ । यसलाई खरिदकर्ताले खरिद गर्न सक्ने छन् ।

कम्पनीले जनाए अनुसार यो मोटरसाइकल निकै आरामदायी र सहजै ह्याण्डलिङ गर्न सकिने किसिमको छ । टिएफटी सस्पेन्स र अन्य लग्जरी कारको ब्रेकिङ सिस्टम यसमा उपलब्ध रहेको छ ।
मोटरसाइकलमा प्रयोग गरिएको ४ वटा इन्जिनले १३०० हर्सपावर बराबरको शक्ति प्रदान गर्नेछ । मौसम सम्बन्धी सम्पूर्ण जानकारी यसको डिजिटल कन्सोलमा उपलब्ध हुनेछ । मोटरसाइकललाई कम तौलको बनाउन कम्पनीले यसलाई केब्लर कार्वनको प्रयोग गरेर बनाएको हो ।
देख्दा निकै ठूलो देखिएपनि मोटरसाइकलको तौल १४० किलोग्राम मात्र रहेको छ । यसलाई एक पटकको चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने छ । हावामा उड्ने समयमा यसलाई जोयस्टीकले कन्ट्रोल गर्नुपर्ने हुन्छ ।
अहिले तयार भएको बाइक ३.३ फिटको उचाईमा उड्न सक्ने छ । कम्पनीले दाबी गरे अनुसार काम भएको खण्डमा निकट भविष्यमा होभर बाइकको रुपमा यसलाई विकास गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ३ लाख ८० हजार पाउण्ड अर्थात् करिब ६ करोड ८ लाख रुपैयाँ पर्नेछ ।


