काठमाडौं । अहिले कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशका अधिकांश भागमा निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको कारण मानिसहरुको आवत जावत ठप्प रहेको छ । त्यसैले सबै किसिमका सवारी साधन घरकै ग्यारेजमा थन्केर बसेका छन् ।
कोभिड १९ को संक्रमण सकिएपछि नयाँ मोटरसाइकल किनेर घुम्न निस्कने योजना बनाउनेहरुले केही फिचरमा ध्यान दिने हो भने आरामदायी यात्रा गर्न सकिन्छ ।
नेपालको सडकमा २०० किलोमिटरभन्दा लामो दुरी मोटरसाइकलमा यात्रा गर्न निकै कठिन हुने गर्छ । खराब सडक, घुमाउरो बटो र ट्राफिक चेतनाको कमीले नेपालमा मोटरसाइकल चलाउन निकै मुस्कील पर्ने गरेको धेरै राइडहरुले बताउने गरेका छन् ।
यस्तोमा तपाई नयाँ मोटरसाइकल किनेर लामो ड्राइभ गर्ने विचार गरिरहनु भएको छ भने केही कुरामा ध्यान दिनु पर्ने हुन्छ । त्यसले तपाईलाई सुरक्षीत र आरामदायी यात्रा गर्न सहयोग गर्ने छ । त्यसको लागि निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।
सेप्रेट सिट
केही वर्ष अघिसम्म धेरै कम्पनीले लामो फ्ल्याट सिट दिएर मोटरसाइकल बजारमा ल्याउने गर्थे । अहिले धेरै कम्पनीले चालक र पछाडिको यात्रुलाई छुट्टाछुट्टै सिटको व्यवस्था गर्न थालेका छन् । लामो यात्रामा निस्कने मानिसको लागि यस्तो छुट्टाछुट्टै सिट निकै सहज हुने गर्छ ।
यसरी फरक सिट भएको मोटरसाइकल लामो समयसम्म चलाउँदा पनि थकाई लागेको महशुस हुँदैन । त्यसैले लामो यात्रा गर्ने सोच हुनेहरुको लागि सेप्रेट सिट भएको मोटरसाइकल उपयुक्त हुन्छ ।
सस्पेन्सन र ब्रेक
यात्रालाई आरामदायी बनाउन मोटरसाइकलमा दिइएको सस्पेन्सनको निकै ठूलो भूमिका हुन्छ । बजारमा उपलब्ध धेरै मोटरसाइकलमा पछाडि ड्यूल स्प्रीङ सस्पेन्सन दिइएको हुन्छ । यो सस्पेन्सन लामो यात्राको लागि उपयुक्त मानिदैन । त्यसैले पछिल्ला दिनमा अधिकांश कम्पनीले प्रयोग गर्ने मोनोशक सस्पेन्सन भएका मोटरसाइकल छनोट गर्नु पर्छ ।
हाइवेमा यात्रा गर्न जाँदा ब्रेक कस्तो छ भन्ने कुराले निकै महत्व राख्छ । त्यसले लामो यात्रा गर्ने मानिसले दुबै चक्कामा डिस्क ब्रेक र एबीएस फिचर भएको मोटरसाइकल छनोट गर्दा राम्रो हुन्छ ।
वाइड टायर
वाइड टायर निकै सुरक्षीत मानिन्छ । यस्ता टायर प्रयोग भएका मोटरसाइकलको ग्रिप उत्कृष्ट हुने गर्छ । यसलाई चलाउँदा कन्ट्रोल गर्न चालकले अनावश्यक बलको प्रयोग गर्नु पर्दैन । अहिले १६० सीसी क्षमताको मोटरसाइकलमा पनि निकै फराकिला टायरको प्रयोग हुने गरेको छ ।


