काठमाडौं । बजाज अटोले बैङ्लोर बेस स्टार्टअप कम्पनीमा ८ मिलियन भारतीय रुपैयाँ लगानी गरेको छ । युलु मोबिलिटी स्टार्टअप कम्पनी चीनबाट पार्टस् आयात गरेर भारतमा एसेम्बल गर्दै आएको कम्पनी हो । एक सीटमात्र रहेको युलु स्कुटरको हाल मूल्य ४३ हजार भारतीय रुपैयाँ रहेको छ भने, अब बजाज अटोले यसमा लगानी पश्चात् यो स्कुटर ३० देखि ३५ हजार भारतीय रुपैयाँमा मात्र निर्धारण हुने जनाएको छ ।
कम्पनीका अनुसार नया स्कुटर पनि युलु इ बाइकको डिजाइनमा आउने तथा यसको थिममा कुनै पनि परिर्वतन नगरीने बताएको छ । कम्पनीले यो वर्षको अन्त्यसम्मा १ लाख स्कुटर निर्माण गर्ने लक्ष्य राखेको छ । हाल कम्पनीले हरेक महिना ४ हजार यूनिट उत्पादन गरिरहेको छ ।
युलु स्कुटरमा हाल ४८ भोल्ट मोटर रहेको छ भने यसको २५ किलोमिटर प्रतिघण्टाको टप स्पीड रहेको छ । एकपटकको फूलचार्जमा ६० किलोमिटर रेन्ज प्रदान गर्छ । युलु स्कुटर सहरी सवारीसाधनका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीले युलु स्कुटर बैङ्लोर, न्यू दिल्ली, मुम्बई, पुने जस्ता सहरमा यसको विस्तार गरिसकेको छ भने अन्य सहरमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
नेपाली बाजरमा समेत चिनियाँ इलेक्ट्रीक स्कुटरको उपस्थिति राम्रो रहेको छ । बजाजले युलु इलेक्ट्रीक स्कुटर नेपाली बजारमा भित्र्याउने हो भने यसको मूल्य करीब ६० हजारदेखि ६५ हजार रुपैयाँमा आउने अनुमान गरिएको छ ।


