काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत महाराजगञ्ज-चप्पल कारखाना सडक ८ लेनको बनाउने काम तीव्र भएको छ ।
काठमाडौंको महाराजगञ्जको नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडक हाल धमाधम विस्तार भइरहेको हो ।
उक्त सडकखण्डको हालसम्म भौतिक प्रगति २० प्रतिशत पुगेको सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
निर्माण सुरू भएको करिब डेढ महिनामा २० प्रतिशत प्रगति भएको जोशीले बताए । उनका अनुसार अहिले आरसीसी वाल निर्माण, कल्भर्ट, टेवा पर्खाल, नाली बनाउने लगायत काम भइरहेको छ ।
‘निर्माण कम्पनीले फागुन अन्तिमदेखि काम थालेको थियो । अहिले नाली, कल्भर्ट, टेवा पर्खाल निर्माण लगायत काम धमाधम भइरहेको छ,’ सूचना अधिकारी जोशीले मेरोअटोसँग भने, ‘हालसम्म भौतिक प्रगति २० प्रतिशत पुगेको छ । असार भित्रै सबै काम सकाउने लक्ष्य छ ।’
चीन सरकारको अनुदानमा बनाइदिने भनिएको कलंकी-बसुन्धरा सडक विस्तारमा ढिलाइ भएपछि सरकारले महाराजगञ्ज-धोवीखोला खण्डको काम भने आफ्नै लगानीमा अघि बढाएको हो ।
सरकारले नारायणगोपाल चोकबाट धोवीखोला (गोपिकृष्ण)पुलसम्मको २.४ किलोमिटर सडक आफ्नै स्रोतमा विस्तार गर्ने भएको छ । सोमध्ये पहिलो चरणमा अहिले ७०० मिटर खण्डको ठेक्का लगाएर काम थालिएको हो ।
महाराजगञ्ज-चप्पल कारखाना खण्डको डिजाइन डिभिजन सडक कार्यालय, काठमाडौंले नै गरेको हो । यो सडक निर्माणको ठेक्का अम्बुजा/एसके/काली जेभीले पाएको छ । यस खण्डको ठेक्का अवधि आगामी असार मसान्तसम्म छ ।
यस सडक निर्माणका लागि चालु आवमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । बाँकी खण्ड चप्पल कारखानादेखि गोपिकृष्ण हलसम्मको १.७ किलोमिटर आगामी आवमा ठेक्का लगाउने उनले बताए । उक्त खण्ड विस्तारका लागि १ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
हाल विस्तारको क्रममा रहेको महाराजगञ्ज-चप्पल कारखाना सडक चीन सरकारले बनाएको कोटेश्वर-कलंकी सडककै स्ट्याण्डर्डको हुने उनले बताए । यो सडक बीचमा ४ लेन र दायाँबायाँ २/२ लेनको सर्भिस ट्रयाक गरी ८ लेनको हुनेछ ।
चीन सरकारले ६ वर्षअघि चक्रपथ विस्तारको पहिलो खण्ड (कोटेश्वर-कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार गर्दिसकेको छ । त्यस्तै, दोस्रो खण्ड अन्तर्गत कलंकीदेखि बसुन्धरासम्मको सडक विस्तार गरिदिने बताएको छ । यद्यपि, हालसम्म काम भने सुरू गरेको छैन ।

