मार्किङ गरेर चिटिक्क बनाइँदै काठमाडौंका सडक, रातभर काम हुँदै

काठमाडौं । काठमाडौंका सडक रङरोगन र मार्किङ गरेर चिटिक्क बनाउन थालिएको छ ।

ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक रङरोगन, मार्किङ र ट्राफिक संकेत निर्माणलाई तीव्रता दिइएको हो ।

सडक डिभिजन काठमाडौंले ठेक्का नै लगाएर सडकमा ट्राफिक संकेत, मार्किङ तथा अन्य सडक सुरक्षा पूर्वाधार निर्माणको काम अघि बढाएको हो ।

सडक मार्किङ, ट्राफिक चिह्न निर्माणको ठेक्का ‘केएएम/रुबी/अयान जेभीले ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँ (भ्याटसहित) पाएको छ ।

कम्पनीले हाल धमाधम काठमाडौंका मुख्य सडकमा मार्किङ, रङरोगनको काम गरिरहेको छ । दिउँसो सवारीसाधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक चिह्न निर्माणको काम रातिको समयमा भइरहेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।

डिभिजनका अनुसार सडकहरूमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म रोड मार्किङको काम भइरहेको छ । हाल सिंहदरबार, भद्रकाली, कालिमाटी लगायत स्थानमा जेब्रा क्रसिङ र मार्किङको काम भइरहेको छ । हालसम्म करिब ७ किलोमिटर सडकमा मार्किङ गर्ने काम सम्पन्न भइसकेको डिभिजनले जनाएको छ ।

सडकको छेउछेउमा पहेँलो र बीच र जेब्रा क्रसिङमा सेतो रङको थर्मोप्लास्टिक पेन्ट प्रयोग गरिएको छ । काठमाडौंका मुख्य सडकहरुमा दशैंअघि नै मार्किङको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्पष्ट ट्राफिक संकेत र व्यवस्थित सडक मार्किङले दुर्घटना न्यूनीकरण गर्नुका साथै चालक र पैदलयात्रीको आवागमनलाई सुरक्षित बनाउने अपेक्षा छ ।


Back_to_top