काठमाडौं । बस सेवामार्फत अनलाइन टिकट बुकिङ गर्दा यात्रुले ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने भएका छन् ।
यात्रुहरूको यात्रालाई सुरक्षित बनाउने उद्देश्यले बस सेवा र हिमालयन एभरेष्ट इन्स्यारेन्स बीच द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनाल र हिमालयन एभरेष्ट इन्स्युरेन्सका डिजिटल सेल्स चिफ म्यानेजर भूपेन्द्र श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बस सेवाको मोबाइल एप वा वेबसाइट प्रयोग गरी टिकट काट्ने यात्रुले आफ्नो यात्रा अवधिका लागि १ लाखदेखि ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने छन् ।
यात्रुले अनलाइनबाट टिकट बुकिङ गर्दा नै आफ्नो यात्राका लागि बीमा सुविधा रोज्न सक्ने विकल्प उपलब्ध गराइएको छ । उक्त बीमा यात्रुले बसमा यात्रा गरिरहेको समयमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
बस सेवाले नेपालमा अनलाइनमार्फत बस टिकट उपलब्ध गराउँदै आएको छ । कम्पनीले देशका ७० भन्दा बढी जिल्लामा संचालन हुने विभिन्न बसको टिकट उपलब्ध गराउँदै आएको छ।

