१६ सेकेन्डमा ३०० किमीको स्पीड भेट्टाउने ‘प्युजो ई-टी१६’

काठमाडौं । पेरिस मोटर शो २०२६ को मुख्य आकर्षणको रुपमा प्युजो ई-टी१६ कन्सेप्टले धेरैको ध्यान खिच्न सफल भएको छ । प्युजोले आफ्नो चर्चित र्‍याली कार ‘२०५ टी१६’को विरासतलाई सम्मान गर्दै नयाँ इलेक्ट्रीक हाइपरह्याच ई-टी१६ कन्सेप्ट सार्वजनिक गरेको हो ।

तीनवटा इलेक्ट्रीक मोटरबाट चल्ने ई-टी१६ कन्सेप्ट कारले २.५ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । प्युजोकै अहिलेसम्मको सबैभन्दा शक्तिशाली कारका रूपमा प्रस्तुत गरिएको ई-टी१६ ले १६ सेकेन्डमै ३०० किलोमिटर प्रतिघण्टाको स्पीड हासिल गर्न सक्छ ।

कम्पनीका अनुसार यसमा प्रयोग भएका केही प्रविधि र डिजाइनका विशेषता भविष्यमा उत्पादन हुने कारमा पनि समावेश गरिनेछन् ।

यो कन्सेप्ट सन् १९८५ र १९८६ मा लगातार दुई पटक विश्व र्‍याली च्याम्पियनसिप जितेको प्युजो २०५ टी१६ को सम्झनामा तयार गरिएको हो । ग्रुप बी र्‍यालीको इतिहासमा चर्चित उक्त कारको आधुनिक विद्युतीय संस्करणका रूपमा ई-टी१६ लाई हेरिएको छ ।

प्युजो स्पोर्टले यसलाई नयाँ पुस्ताको ‘हाइपरह्याच’ अवधारणाको सुरुवात मानेको छ ।

ई-टी१६ मा तीनवटा इलेक्ट्रीक मोटर छन् । एउटा मोटरले अगाडिका पाङ्ग्रा चलाउँछ भने पछाडिका दुई मोटरले छुट्टाछुट्टै दुई चक्कामा पावर दिन्छन् । तीनवटै मोटरको संयुक्त पावर ६०८ किलोवाट (८१५ हर्सपावर) रहेको छ ।

कारमा दुवै एक्सलमा टर्क भेक्टरिङ प्रविधि, तीनवटा ड्राइभिङ मोड र चालकले आफूअनुसार मिलाउन सक्ने अतिरिक्त मोड उपलब्ध छन् । यसमा चारवटै चक्कामा ३८० मिलिमिटरका डिस्क ब्रेक दिइएको छ । निकै फराकिला मिशेलिनले उत्पादन गरेका टायर राखिएका छन् ।

यस कारमा उपलब्ध अर्को विशेषता ब्याट्री कुलिङ प्रणाली हो । ब्याट्री सेलको तल्लो भागको सट्टा छेउबाट ताप निकाल्ने यो प्रणालीले लगातार तीव्र गतिमा चलाउँदा पनि ब्याट्रीको ताप नियन्त्रण गर्न सहयोग गर्छ ।

यसमा रहने अन्य प्राविधि कुराको जानकारी कम्पनीले दिएको छैन ।


Back_to_top