५ दिनपछि बिक्री सुरू हुँदै दोस्रो पुस्ताको एटो वान, ठूलो साइज र मोटरमा आउने

काठमाडौं । बीवाइडीको दोस्रो पुस्ताको सिगल (नेपालमा एटो १) ५ दिनपछि बिक्री सुरू हुने भएको छ । बीवाइडीले नयाँ एटो वान यही अक्टोबर २० तारिख (कात्तिक ३ गते) चिनियाँ बजारमा सार्वजनिक गर्ने भएको हो ।

चिनियाँ अटोमोटिभ मिडिया आउटलेट इचेले बीवाइडीको स्रोतलाई उद्धृत गर्दै अक्टोबरमा नयाँ सिगल लन्च हुने जनाएको छ । यद्यपि,  बीवाइडीले आफ्ना आधिकारिक माध्यमहरूमार्फत हालसम्म लन्च मिति घोषणा गरेको हो ।

कम्पनीले गत सातादेखि दोस्रो पुस्ताको सिगलको प्रि अर्डर खुलाएको थियो । नयाँ सिगल चीनका विभिन्न डिलरहरूमा समेत पुगिसकेको छ ।

दोस्रो पुस्ताको एटो वान व्यापक परिवर्तन भएर आउँदैछ । ठूलो साइज, ठूलो मोटर पावर, रियर ह्वील ड्राइभ सिस्टम, लाइडार, प्रिमियम क्याबिन फिचरसहित आउने भएको हो ।

नयाँ सीगल ६ वटा बाहिरी रङ विकल्पहरूमा उपलब्ध हुनेछ । दोस्रो पुस्ताको सिगलको डिजाइन आकर्षक र स्मार्ट देखिन्छ । यसको अगाडिको भागमा बन्द ग्रिल डिजाइन छ, जुन तीखो, बहु(मुखी रेखाहरू र बहुभुज प्रकाश क्लस्टरहरूद्वारा सुसज्जित छन् । गाडीको छतमा लाइडार सेन्सर जडान गरिएको छ भने साइड प्रोफाइलमा सेमि हिडन डोर ह्याण्डलहरू, ग्लासब्लैक ह्विलहरू र लुकेका बी/सी/डी पिलर डिजाइन रहेका छन्। पछाडिको भागमा नयाँ टेललाइट एसेम्बली र एक प्रमुख रियर डिफ्यूजर प्यानल राखिएको छ।

नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड १६४एक्सवाईबी’ मोटर प्रयोग गरिएको छ । यसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ।

नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग हुनेछ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

नयाँ सिगल पहिलोपटक रियर ह्वील ड्राइभट्रेनमा आउँदैछ । यसमा स्वतन्त्र मल्टी–लिंक सस्पेन्सन प्रयोग गरिएको छ । साथै, पहिलेको १६५र१७५ मिमी टायरको सट्टा नयाँ १६ इन्चको एलोय ह्वीलमा फराकिलो २०५र६० आर १६ टायर प्रयोग गरिएको छ।

दोस्रो पुस्ताको सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ हालकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो ।

यसको क्याबिन पनि प्रियिमम र आकर्षक छ । सार्वजनिक विवरण अनुसार दोस्रो पुस्ताको एटो वानमा चालकका लागि मसाज सिट उपलब्ध हुनेछ । साथै, अगाडिका सिटहरू विद्युतीय रूपमा समायोजन गर्न सकिने सुविधा छ। नयाँ एटो वानको अर्को मुख्य आकर्षण बहुरङ्गी एम्बियेन्ट लाइटिङ हो । यसको ड्यासबोर्ड पनि निकै आकर्षक बनाइएको छ ।

नयाँ सीगल ह्याचब्याकको क्याबिनमा ३/७ स्प्लिट डिजाइन भएको ठूलो फ्लोटिङ मोनिटर राखिएको छ। यसको बायाँ भागले इन्स्ट्रुमेन्ट प्यानलको रूपमा काम गर्छ । जसमा कारको गति, गियर, रेन्ज, ऊर्जा खपत, ड्राइभिङ मोडहरू आदि बारे जानकारी देखाउँछ। डिस्प्लेको दायाँ भाग भने नेभिगेसन र सङ्गीत जस्ता अन्य इन्फोटेनमेन्ट कार्यहरूका लागि छुट्याइएको छ।

यसको अगाडि बोनेट मुनि ९४ लिटरको अतिरिक्त फ्रंक उपलब्ध छ। पछाडिका सिटहरू फोल्ड गर्दा कारको डिक्कीमा अधिकतम १,३८० लिटरसम्म सामान राख्न सकिन्छ।

नयाँ मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्याश चार्जिङ प्रविधि हुनसक्ने अनुमान गरिए पनि कम्पनीले चार्जिङबारे आधिकारिक पुष्टि गर्न बाँकी छ।


Back_to_top