काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनीले हुन्डाईले भारतमा थप साढे १५ अर्ब अमेरिकी डलर (करिब २४ खर्ब नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।
हुन्डाईका कार्यकारी अध्यक्ष इउइसुन चुङले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि उक्त लगानी प्रतिबद्धताको घोषणा गरिएको हो ।
हुन्डाई मोटर ग्रुपले सन् २०२६ देखि २०३२ को बीचमा उत्पादन विस्तार, अनुसन्धान सुविधा र अटोमोटिभ प्रविधि विकासका लागि उक्त रकम लगानी गर्ने भएको हो ।
हुन्डाई ग्रुपले भारतमा हुन्डाई र किया ब्राण्डमा थप लगानी गर्ने भएकाे हाे । जसमा पार्टपुर्जा (कम्पोनेन्ट) उत्पादन र मोबिलिटी प्रविधिहरूमा लगानी समेत समावेश छ ।
हुन्डाईको हाल भारतका ३ वटा प्लाण्टमा गरी कुल वार्षिक उत्पादन क्षमता १४.२५ लाख युनिट पुगेको छ । हुन्डाईको चेन्नई प्लाण्टको क्षमता ८.२४ लाख युनिट, पुणे प्लाण्टको १.७० लाख र कियाको अनन्तपुर प्लाण्टको क्षमता ४.३१ लाख युनिट रहेको छ ।
हुन्डाईले नयाँ लगानीमा पुणे प्लाण्टको क्षमता विस्तारका साथै उत्पादन वृद्धिको योजना बनाएको छ । यस लगानीले हुन्डाई मोटर ग्रुपको अन्तर्राष्ट्रिय सवारी साधन निर्यातमा भारतको योगदानलाई पनि बढाउनेछ।

हुन्डाईले भारतमा रहेको अनुसनधा तथा विकास (आर एण्ड डी)सञ्चालनलाई अझ सशक्त बनाउन करिब ६,६५० करोड भारतीय रुपैयाँ बजेट छुट्याइएको छ । यस रकमबाट अत्याधुनिक सवारी साधन परीक्षण ट्र्याक, नयाँ इन्जिनियरिङ पूर्वाधार तथा आगामी पुस्ताका प्रविधि परियोजनाहरू सञ्चालन गरिनेछ ।
उत्पादन बाहेक हुन्डाईले इलेक्ट्रीक भेहिकल चार्जिङ नेटवर्क, अटो फाइनान्सिङ, पुराना गाडीहरूको पुनर्चक्रण तथा प्रविधि स्टार्टअपहरूमा समेत लगानी गर्ने रणनीति बनाएको छ। यी सम्पूर्ण योजनाहरू व्यवस्थित गर्न भारतमा एक डेडकेटेड लगानी निकाय स्थापना गरिनेछ । जसले स्थानीय आपूर्तिकर्ता र साझेदारहरूसँग प्राविधिक सहकार्य बढाउनेछ । चेन्नईमा ‘हुन्डाई एकेडेमी फर टेक्निकल स्किल्स’ स्थापना गरी दक्ष जनशक्ति तयार गर्ने योजना बनाएको छ।
हुन्डाईले हाल भारतमा २४,००० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । कम्पनीको विद्यमान औद्योगिक सञ्जालमा हुन्डाई मोबिस, हुन्डाई ट्रान्सिस, हुन्डाई विया, हुन्डाई ग्लोभिस र हुन्डाई क्यापिटल समावेश छन् । नियोजित खर्चले उत्पादन, इन्जिनियरिङ, अनुसन्धान र पार्टपुर्जा उत्पादनमा रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

