काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माता एक्सपेङले नयाँ एसयूभी मोना एल-०५ भोलि अक्टोबर १५ तारिखमा चिनियाँ बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले स्थानिय समय अनुसार भोलि साँझ ७ बजेबाट गाडीको प्रि-सेल्ससमेत सुरु गर्ने घोषणा गरेको हो ।
एक्सपेङले आफ्नो एसयूभी पोर्टफोलियो विस्तार गर्दै चौथो त्रैमासमा बिक्री बढाउने लक्ष्यसहित मोना एल-०५ बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार नयाँ एसयूभी युवा ग्राहकलाई लक्षित गरी तयार गरिएको छ ।
कम्पनीले अहिलेसम्म मोना एल-०५ को मूल्य र औपचारिक बिक्री सुरु हुने मिति सार्वजनिक गरेको छैन । एक्सपेङका अध्यक्ष तथा सीईओ हे सियाओपेङले गत अगस्टमा चौथो त्रैमासमा यो मोडल बजारमा ल्याउने बताएका थिए ।
कम्पनीले मोना एल-०५ लाई ब्याट्री इलेक्ट्रीक भेहिकल र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल गरी दुई विकल्पमा ल्याउने छ । यसको प्योर ईभी मोडलमा ७१.१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ ।
त्यसैगरी, ईआरईभी संस्करणमा ३७.२ किलोवाट आवरको ब्याट्री र १.५ लिटरको रेन्ज एक्सटेन्डर इन्जिन उपलब्ध हुनेछ । दुवै संस्करणमा अधिकतम १८३ किलोवाट अर्थात् २४५ हर्सपावर क्षमताको ड्राइभ मोटर प्रयोग गरिएको छ ।
मोना एल-०५ को लम्बाइ ४८७० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६३६ एमएम छ । यसमा २९४० एमएम लामो ह्विलबेस पाउन सकिन्छ ।

