काठमाडौं । स्याङयोङ्ग टिभोलीको प्ल्याटफर्ममा निर्माण गरिएको महिन्द्रा एस-२०१ कम्प्याक्ट एसयूभीको चर्चा निकै बढेको छ । मारुती सुजुकी भिटारा ब्रेजालाई सिधा टक्कर दिन आउन लागेको यो कम्प्याक्ट एसयूभी निकै प्रतिक्षित बनिसकेको छ ।
विभिन्न चरणमा टेष्टका लागि भारतीय सडकमा यो गाडी देखिइसकेको छ । यो भारतीय ब्रान्डको एसयूभीलाई कोरियन टेक्नोलोजीले निकै उत्कृष्ट बनाएको अनुमान लगाइएको छ । त्यसो हुनुमा महेन्द्राको एसयूभी निर्माणमा भएको लामो अनुभव र टिभोलीको प्ल्याटफर्ममा उत्पादन हुनु हो ।
इञ्जिन
महिन्द्रा एस-२०१ मा १.५ लिटर पेट्रोल र १.९९ लिटर एमहाक डिजेल इञ्जिन दिइएको छ । जसमा दिइएको पेट्रोल इञ्जिनले १२० बीएचपी पावर र १५० एनएम टर्क उत्पादन गर्छ भने डिजेल इञ्जिनले १४० बीएचपी पावर र ३२० एनएम टर्क उत्पादन गर्छ ।
५ स्पीड म्यानूयल गियर बक्स र ६ स्पीड अटोमेटीक गियरबक्स दिइएको यस गाडीले सहरी रोडमा १७ किलोमिटर प्रतिलिटर र हाइवेमा १९ किलोमिटरसम्म माइलेज दिने बताइएको छ ।
एक्स्टेरियर
महिन्द्रा एस-२०१ निकै आक्रर्षक डिजाइनमा आउनेछ । महिन्द्राको अहिलेका मोडलहरूकोभन्दा विल्कुल फरकरुपमा आउन लागेको यसको डिजाइन स्याङ्योङ्ग टिभोलीको एक्स १०० प्ल्याटफर्ममा डिजाइन गरिएको हो । त्यसका लागि महिन्द्रले आफ्नो स्वामित्वमा रहेको पिनिनफेरिनाबाट डिजाइन लिएको छ ।
निकै आक्रर्षक डिजाइन रहेको यो कारमा केही एक्सयूभी-५०० बाट लिइएको जनाइएको छ । यस एसयूभीको अगाडिको फ्रन्ट ग्रिल एक्सयूभी-५०० को जस्तै निकै ठूलो रहेको छ । यसमा दिइएको क्रोम निकै एग्रेसिभ रहेको छ । प्रोजेक्टर ल्याम्पसँगै एलईडी डेटाइम रनिङ लाइट दिइएको छ । इन्ट्रीगेटेड फगल्याम्पकासाथ अगाडिको मस्कुलर बम्परले गाडीलाई निकै उत्कृष्ट देखाएको छ ।
यसमा दिइएको स्पोर्टी र बोल्ड अलोय ह्वील, कालो क्लाडिङ आर्क ह्वील रहेको छ । स्पोर्टी रुपटपले यसलाई अझ बढी स्टाइलिस बनाएको छ ।
इन्टेरियर
ठूलो टकस्क्रिन इफोटेन्टमेन्ट सिस्टम, क्याबिनमा लगाइएको मूड लाइट, मल्टीफङ्सन थ्री–स्पोक स्टेरिङ ह्वीलले गाडीलाई निकै आक्रर्षक बनाएको अनुमान गर्न सकिन्छ । आक्रर्षक ड्यास बोर्ड, एप्पल कार प्ले र एन्ड्रोइड अटोले कारलाई निकै आधुनिक देखाउनेछ । फ्यूचर कार, मोर्डन कनेक्टीभिटी र लग्जरीयस सिटले गाडीलाई निकै आक्रर्षक बनाएको छ ।
डायमेन्सन
यस कम्प्याक्ट एसयूभीको लम्बाई ३९९९ एमएम रहेको अनुमान गरिएको छ भने चौडाई १७९० एमएम रहेको छ । १६०० एमएम हाइट रहेको यस गाडीको ह्वील बेस–२५०० एमएम रहेको छ । २०० एमएम ग्राउन्ड क्लेयरेन्स रहेको यस गाडीमा ३३० लिटरको बुट स्पेश रहने अनुमान गरिएको छ ।
मूल्य
यसलाई कम्पनीले भारतीय बजारमा यही वर्षको अन्त्यसम्ममा ल्याउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यस एसयूभीलाई कम्पनीले करिब ७ लाखदेखि ९ लाख ५० हजार भारतीय रुपैयाँको हाराहारी मूल्यमा ल्याउने अनुमान गरिएको छ ।
मूल्यको हिसाबले यसको प्रतिस्पर्धा सिधा मारुती सुजुकी ब्रेजासँग हुनेछ । ब्रेजाको मूल्य दिल्लीको शोरुममा ७ लाख देखि ९ लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ ।
यसले भारतीय बजारमा मारुती सुजुकीको बजार हिस्सामा ठूलो फरक पार्ने अनुमान गरिएको छ । साथै, कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेका फोर्ड ईकोस्पोर्ट, टाटा नेक्सन र होन्डा भीआर-भीको बजारमा पनि असर गर्ने आँकलन सुरु भएको छ ।

