काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो नयाँ बोर्न इलेक्ट्रीक एसयूभी ‘बी ०७’ सन् २०२७ मा सार्वजनिक गर्ने पुष्टि भएको छ ।
महिन्द्राका कार्यकारी निर्देशक तथा अटो र फार्म सेक्टर सीईओ राजेश जेजुरिकारले हालै भएको ‘अर्निङ एनालिस्ट’ बैठकमा यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार बी ०७ कम्पनी भित्र प्रयोग गरिने नाम मात्र हो । बजारमा आउँदा यसको नाम फरक हुन सक्नेछ । महिन्द्राले अर्को वर्ष बजारमा ल्याउने बी ०७ गाडी २०२२ अगस्टमा देखाइएको महिन्द्रा BE.07 कन्सेप्टमा आधारित हुने अपेक्षा गरिएको छ ।
त्यतिबेला महिन्द्राले XUV.e8, XUV.e9, BE.05, BE.07 र BE.09 गरी ५ वटा ‘बोर्न इलेक्ट्रीक’ कन्सेप्ट देखाएको थियो । तीमध्ये हालसम्म तीन वटा गाडी बजारमा ल्याइसकेको छ ।
महिन्दले BE.05 लाई महिन्द्रा बीई ६, XUV.e8 लाई एक्सईभी ९ एस र XUV.e9 लाई महिन्द्रा एक्सईभी ९ ई नामबाट बजारमा उतारेको छ ।

अब आउन बाँकी दुई गाडीमध्ये BE.07 लाई बी ०७ कोडनेममा ल्याउन लागेको हो । कार्यकारी निर्देशक जेजुरिकारले बी ०७ अहिले बजारमा उपलब्ध तीन इलेक्ट्रीक गाडीभन्दा पनि धेरै बिक्री हुने विश्वास व्यक्त गरेका छन्।
नयाँ एसयूी बी ०७ यसअघि देखाइएको BE.07 कन्सेप्ट जस्तै देखिने छ । यो महिन्द्राको इंग्लो प्लेटफर्ममा आधारित हुनेछ । जसमा आधुनिक ब्याट्री, शक्तिशाली मोटर र नयाँ सफ्टवेयर सिस्टम रहने छ ।
यसको डिजाइन बीई ६ भन्दा अलि साधारण र परम्परागत एसयूभी जस्तो हुनेछ। अगाडि र पछाडि सी आकारका एलईडी लाइट रहने छन् ।
कन्सेप्ट अनुसार यसको लम्बाइ करिब ४,५६५ एमएम, चौडाइ १,९०० एमएम, उचाइ १,६६० एमएम र ह्वीलबेस २,७७५ एमएम छ। आकारका हिसाबले यो महिन्द्रा बीई ६, मारूती ई भिटारा, हुन्डाई क्रेटा, टाटा सयरा ईभी भन्दा ठूलो हुनेछ । तर एक्सईभी ९ ई र एक्सईभी ९ एस भन्दा सानो हुने सम्भावना छ।

BE.07 अवधारणामा ठूलो तीनवटा स्क्रीन भएको ड्यासबोर्ड देखाइएको थियो। ठूलो प्यानोरामिक सनरुफ र कम फिजिकल बटन यसको विशेषता थिए । नयाँ बी ०७ मा पनि आधुनिक कनेक्टिभिटी सुविधा, एडास, डिजिटल स्क्रीन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट हुने सुविधा रहने अनुमान छ ।
महिन्द्राले बी ०७ मा ५९ किलोवाट आवर वा ७९ किलोवाट आवर क्षमताको ब्याट्री विकल्प दिन सक्ने अनुमान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने अपेक्षा गरिएको छ । यसमा शक्तिशाली मोटर प्रयोग गर्नेछ । जसले करिब २३० पीएस र टर्क ४०० न्युटन मिटर जति टर्क प्रदान गर्नेछ ।
सन् २०२७ मा आउने बी ०७ महिन्द्राको इलेक्ट्रीक गाडी योजनामा महत्त्वपूर्ण हुनेछ । भारतीय बजारमा प्रिमियम इलेक्ट्रीक एसयूभीको माग बढ्दै गइरहेको अवस्थामा बी ०७ ले महिन्द्राको उपस्थितिलाई झनै बलियो बनाउने देखिन्छ ।

