काठमाडौं । बजाज मोटरसाइकलले पल्सर लाइनअपका सबै मोटरसाइकल मोडलहरू अपडेट गर्ने भएको छ ।
कम्पनीले पल्सर सिरिजको एन, एनएस, आरएस लगायतका सबै मोडलहरू चाँडै नै ठूलो अपडेटका साथ बजारमा ल्याउने भएको हो ।
भारतीय मिडिया रिपोर्ट अनुसार पल्सरको इन्ट्री-लेभलदेखि प्रिमियम मोडलसम्मका मोटरसाइकलहरूमा व्यापक परिमार्जन गरिने संकेत गरिएको छ । बजाजको कार्यकारी निर्देशक राकेश शर्मा ले सन् २०२६ मा सबै परिमार्जित पल्सर मोडेल सार्वजनिक गर्ने योजना रहेको जानकारी दिएका हुन् ।
बजाजले लामो समयदेखि नै फरक-फरक ग्राहक वर्गलाई लक्षित गर्दै मोटरसाइकलहरू डिजाइन गरिरहेको छ । पल्सर सिरिजले भारत, नेपाल र अन्य अन्तर्राष्ट्रिय बजारमा समेत बजाजका लागि उच्च बिक्री मात्रा कायम राख्दै आएको छ ।
आगामी मोडेलहरूमा सामान्य स्टाइलिङ परिवर्तनदेखि लिएर उपकरण, फिचर र सम्भावित मेकानिकल सुधारसम्म गरिने बताइएको छ । २०२५ नोभेम्बर यता कम्पनीले २०२६ भर्सनका रूपमा क्लासिक पल्सर १२५ र १५० मोडललाई विभिन्न किसिमको अपडेट गरेर बजारमा ल्याइसकेको छ ।
यो व्यापक अपडेटमार्फत बजाजले १२५ सीसी र १५० सीसीभन्दा माथिको प्रतिस्पर्धी सेग्मेन्टमा आफ्नो पकड अझ बलियो बनाउने रणनीति लिएको रिपोर्टमा उल्लेख छ । कम्पनी व्यवस्थापनका अनुसार नयाँ डिजाइन र आधुनिक फिचरप्रति ग्राहकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै बजार वृद्धिभन्दा बढी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
पल्सर एन सिरिज तुलनात्मक रूपमा नयाँ प्लेटफर्ममा आधारित भएकाले निकट भविष्यमा ठूला परिवर्तन नआउने सम्भावना छ । तर एनएस सिरिजमा भने व्यापक सुधार हुने अपेक्षा गरिएको छ। यस सिरिजका धेरै मोडेल लामो समयदेखि बिक्रीमा रहेकाले नयाँ डिजाइन, उन्नत डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र थप फिचर समावेश गरिने सम्भावना रहेको देखिन्छ ।
कम्पनीले हाल १२५ सीसीदेखि ४०० सीसीसम्मका विभिन्न मोडलहरू बजारमा बिक्री गर्दै आएको छ । भारतमा नयाँ बजेट आएसँगै ३५० सीसीभन्दा माथिका मोटरसाइकलहरूमा नयाँ जीएसटी लागू भएको छ । यसले गर्दा ३५० सीसी भन्दा माथि सेग्मेन्टका मोटरसाइकलहरू महँगो भएका छन् ।
बजाजले यसैलाई मध्येनजर गरी आफ्नो फ्ल्यागसिप मोडल डोमिनार ४०० र एनएस ४०० मोटरसाइकललाई इन्जिन क्षमता घटाएर ३५० सीसी इन्जिनमा बजारमा नयाँ मोडलका रूपमा ल्याउने तयारी पनि थालेको छ ।

