काठमाडौं । भारतीय अटो निर्माता कम्पनी महिन्द्राले उत्पादन गरेको इलेक्ट्रीक कार ‘ई-भेरिटो’ लाई नेपाली बजारमा अग्नी इनकर्पोरेटले नाडा अटो शो २०१८ मा पहिलो पटक सार्वजनिक गरेको थियो ।
त्यसयताको दुई महिनामा कम्पनीले बिक्री वितरण सुरु गरेको ई-भेरीटो ६ युनिट बिक्री भइसकेको छ । त्यस्तै करिब १० युनिट गाडी बुकिङ भएको कम्पनी स्रोतले जानकारी दियो । नयाँ बुकिङ भएका केही युनिट कार अबको केही दिनमा नै नेपाल आउने जनाइएको छ ।
पछिल्लो दिनमा इलेक्ट्रीक कारप्रतिको आर्कषण बढ्न थालेको छ । सरकारी तवरबाट नै इलेक्ट्रीक गाडी खरिदलाई प्रोत्साहन सुरु भएकाले अबको दिनमा इलेक्ट्रीक सवारीसाधनको बिक्री क्रमिकरुपमा बढ्दै जाने आँकलन गर्न सकिन्छ ।
‘हामी बिगत लामो समयदेखि इलेक्ट्रीक सवारीसाधन बिक्री वितरण गर्दै आएका छौं, अहिले बिक्रीमा पनि सकारात्मक सुधार देखिएको छ’ अग्नी इन्कर्पोरेट अन्तर्गतको अग्नी इनर्जीका सिनियर एक्जुकेटिभ मेनेजर प्रमोद भन्डारीले मेरोअटोसँग भने ।
यस्तो छ ई–भेरिटो
यसअघि सानो स्मार्ट इलेक्ट्रीक कार उत्पादन गर्दैआएको महिन्द्राको ई–भेरिटो सेडान कार हो । यसलाई महिन्द्राले २०१६ मा नै भारतीय बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले भारतीय बजारमा दिल्लीबाट बिक्री÷वितरण सुरु गरेको उक्त कार ब्यावसायिक उत्पादनभन्दा पनी सरकारी कार्यालयको लागि उत्पादन हुँदैआएको थियो ।
ई–भेरिटोमा ७२ भोल्टको मोटर लगाइएको यस कारले ४० बीएचपी पावरकासाथै ९१ एनएम टर्क उत्पादन गर्छ । कारको टप स्पीड क्षमता ८६ किलोमिटर प्रतिघन्टा रहेको छ । एकपटकको फुल चार्जमा कारलाई १४० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
महिन्द्राले यस कारमा जडान गरेको रि–जेनेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्रीलाई चार्ज गर्ने गर्छ । यसको अलवा महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम लगाएको छ । यसको सहयोगमार्फत् एक घन्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । यसलाई चार्ज गर्न १५ एम्पीयरको पावर आवश्यकता पर्छ ।
कम्पनीले यो गाडीलाई २८ लाख ८० हजार रुपैयाँमा बिक्री वितरण गर्दै आइरहेको छ ।

