काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले पछिल्लो एक महिनामै ६२ हजार युनिट बढी एसयूभी बिक्री गरेको छ ।
कम्पनीले सन् २०२६ मार्चका कुल ६२ हजार १०९ युनिट एसयूभी बिक्री गरेको हो । यो घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बिक्री गरेको संख्या हो ।
महिन्द्राले मार्चमा घरेलु बजारमा मात्रै ६० हजार २७२ युनिट कार बक्रिी गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा २५.४४ प्रतिशत धेरै हो । महिन्द्राले सन् २०२५ मार्चमा घरेलु बजारमा ४८ हजार ४८ युनिट कार बेचेको थियो ।
त्यस्तै, मार्चमा १ हजार ८३७ युनिट एसयूभी निर्यात गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२५/२६ मा कुल ६ लाख ६० हजार २७६ युनिट एसयूभी बेचेको छ ।
कम्पनीले २०२६ मार्चमा कमर्शियल, प्यासेनजर र थ्रीह्वीलर गरी कुल ९९ हजार ९६९ युनिट सवारी साधन बिक्री गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशत धेरै हो । कम्पनीले मार्चमा कुल २४ हजार ९२८ युनिट कमर्शियल सवारी बिक्री गरेको छ ।
महिन्द्राका स्कर्पियो, बोलेरो, एसयूभी थ्रीएक्सओ, एक्सयूभी सेभेन एक्सओ चर्चित छन् । त्यस्तै, विद्युतीतर्फ महिन्द्रा एक्सईभी ९ ई, बीई सिक्स, एक्सईभी नाइन एसले राम्रो बजार पाइरहेका छन् ।
नेपालमा पनि महिन्द्राको स्कर्पियो, बोलेरो लगायतका मोडल चर्चित छन् । आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट एक्सईभी ९ ई र बीई सिक्स ईभी पनि बेचिरहेको छ ।

