काठमाडौं । अब दुईपाँग्रे राइड सेयरिङ सेवा प्रदायकले ३० किलोमिटरभन्दा टाढाको दुरीमा सेवा दिन नपाउने भएका छन् ।
यातायात व्यवस्था विभागले राइड सेयरिङ सेवालाई सुरक्षित, भरपर्दो, व्यवास्थापन र नियमन गर्न तयार पारेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२’को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
‘डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने दुईपाँग्रे सवारी मार्फत कुनै यात्रीलाई सेवा एकपटकमा प्रस्थान विन्दुदेखि गन्तव्य बिन्दुसम्म बढीमा ३० किलोमिटर दूरीसम्म मात्र सेवा दिन सकिनेछ,’ मस्यौदामा भनिएको छ, ‘उल्लिखित दूरी भन्दा बढी दूरीका लागि सेवा खोज्न वा प्राप्त गर्न नसकिने गरी एप (एप्लिकेसन)मा व्यवस्था भएको हुनुपर्नेछ।
चारपाँग्रे राइड सेयरिङलाई भने कुनै दुरीको सीमा तोकिएको छैन । चारपाँग्रे सवारीले आफूले बाटो इजाजत पाएको नेपालभरीको बाटोमा सेवा दिन सक्नेछ ।
डिजिटल मोबिलिटी सेवामा प्रयोग हुने सवारीले सार्वजनिक सवारीसरह बाटो इजाजत लिनुपर्नेछ । कुनै सवारीले दुई वा सोभन्दा बढी प्रदेशमा सेवा प्रदान गर्ने गरी बाटो इजाजत लिन चाहेमा सवारी परीक्षण कार्यालयबाट बाटो इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ।दुईपाँग्रको हकमा अन्तर प्रदेश बाटो इजाजत जारी गरिने छैन ।
विभागले तयार पारेको उक्त मस्यौदा हाल सरोकारवालाहरूसँग छलफल क्रममा छ । छलफलपछि प्राप्त सुझावहरू समेटी मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने विभागले जनाएको छ । मन्त्रिस्तरीय निर्णयबाट स्वीकृति भएपछि मापदण्ड कार्यान्वयनमा आउने छ ।

