आयो पेट्रोल भर्नभन्दा छिटो चार्ज हुने मोटरसाइकल, रेन्ज ६०० किमी

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल निर्माता भर्जले विश्वकै पहिलो सोलिड स्टेट ब्याट्री प्रयोग भएको मोटरसाइकल उत्पादन थालेको छ । कम्पनीले फिनल्याण्डको स्टार्टअप कम्पनी डोनोट ल्याबले उत्पादन गरेको अल सोलिड स्टेट ब्याट्री प्रयोग गरेर मोटरसाइकल बनाउन थालेको हो ।

कम्पनीले भर्जको सेकेन्ड जेनेरेशन टीएस प्रो मोडलमा सोलिड स्टेट ब्याट्री दिएको हो । विश्वका कुनै पनि दुई पाङ्ग्रे निर्माताले अहिलेसम्म सोलिड स्टेट ब्याट्री प्रयोग गरेको थिएन ।

कम्पनीको दावी अनुसार नयाँ ब्याट्री एक लाख चार्जिङ साइकल टिक्ने छ । यसको इनर्जी डेनसीटी ४०० वाट आवर/केजी रहेको छ । जुन लिथियम आयन ब्याट्रीभन्दा दोब्बर धेरै हो । यसमा रहेको ब्याट्री केबल ५ मिनेटमा फुल चार्ज हुनेछ । मोटरसाइकलले २०० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छ ।

पेट्रोल भर्नभन्दा कम समयमा नै यसलाई चार्ज गर्न सकिने भएको कारण युरोपमा भर्ज मोटरसाइकल कुर्ने बढ्दै गएका छन् । यसको रेन्ज पनि निकै लोभलाग्दो छ । यसमा २०.२ किलोवाट आवर र ३३.३ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक विकल्प रहेको छ ।

यसमा दिइएको सानो २०.२ किलोवाट आवरको ब्याट्रीले एकपटकको फुल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्रीले ६०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । भर्जको नयाँ मोटरसाइकल टीएस प्रोमा सीसीएसटू फास्ट चार्जिङ सपोर्ट गर्ने टेक्नोलोजी दिइएको छ ।

सोलिड स्टेट ब्याट्री प्रयोग भएकाले मोटरसाइकलमा आगलागीको जोखिम कम हुने र दीर्घकालीन रूपमा सुरक्षित हुने कम्पनीको भनाइ छ।

मोटरसाइकलमा कम्पनीले विशेष किसिमको १०२ किलोवाटको हबलेस रियर मोटर प्रयोग गरेको छ । यो मोटरले अधिकतम १००० एनएमटर्क जेनेरेट गर्छ । यसले ०-१०० किलोमिटर प्रतिघण्टाको रफ्तार केवल ३.५ सेकेण्डमा पूरा गर्न सक्छ । मोटसाइकलकाको तौल भने करिब २३५ किलोग्राम रहेको छ ।

टीएस प्रोमा डुअल-च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल रेजेनेरेटिभ ब्रेकिङ सिस्टम, चार राइडिङ मोड, क्रुज कन्ट्रोल, डिटेड ग्रिप, पूरा एड्जस्टेवल सस्पेन्सन सेटअप, पीरेली टायर लगायतका आधुनिक सेफ्टी फिचरहरू छन्।

यसको सिट हाइट ७८० एमएम र ग्राउण्ड क्लियरेन्स १४० एमएम छ । जसले गर्दा दैनिक प्रयोग र लामो यात्राका लागि पनि उपयुक्त बनाउँछ ।

भर्ज टीएस प्रोले केवल नयाँ मोटरसाइकल मात्र नभई इलेक्ट्रीक मोटरसाइकलको भविष्य कता जाँदैछ भन्ने कुरालाई स्पष्ट संकेत गरेको छ। छोटो चार्जिङ समय, लामो रेन्ज र उच्च प्रदर्शनका कारण यो मोडलले पेट्रोल मोटरसाइकलको बलियो विकल्पका रूपमा आफूलाई स्थापित गर्ने अनुमान गरिएको छ।

यसको मूल्य भने नेपालमा राम्रो इलेक्ट्रीक एसयूभी आउने बराबर नै छ । कम्पनीले अमेरिकी बजारमा २९ हजार ९९० अमेरिकी डलर तोकेको छ । ठूलो ब्याट्री भएको मोडल किन्दा थप ५ हजार डलर तिर्नु पर्ने हुन्छ।


Back_to_top