पथलैया-नारायणगढ सडकमा ४ किमी लामो भायडक्ट बनाइने, साढे १० अर्ब लाग्ने

एआई निर्मित सांकेतिक तस्बिर ।

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पथलैया-हेटौंडा-नारायणघाट सडक खण्डमा कुल ४००२ मिटर लामो भायडक्ट निर्माण गरिने भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज (आधाभार क्षेत्र) र चितवनको बरन्डाभार करिडोर वन क्षेत्रमा समान २००१ मिटर लामा दुई वटा भायाडक्ट निर्माण गरिने भएको हो । वन मन्त्रालयले सार्वजनिक गरेको यो सडकको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

सडक विभाग अन्तर्गतको एशियाली विकास बैंक (एडीबी) निर्देशनाले यो सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारिसकेको छ ।

हाल दुई लेनमा रहेको यो सडकलाई ५४ अर्ब २९ करोड ३६ लाख ४७ हजार ५२६ रुपैयाँ लागतमा चार लेनको बनाउन लागिएको छ । सोक्रममा जंगल क्षेत्र वन्यजन्तु र सवारी साधन निर्वाध आवतजावत गर्न सकुन भनेर भायडक्ट निर्माण गर्न लागिएको हो । यो नेपालको सडक इतिहासमा वन्यजन्तु संरक्षणका लागि बनाउन लागिएको सबैभन्दा ठूलो र आधुनिक संरचना समेत हो ।

यी दुईवटा भायाडक्ट निर्माणका लागि मात्रै १० अर्ब ५० करोड ४४ लाख १० हजार ३५५ रुपैयाँ लाग्नेछ ।  भायडक्ट दाँया/बाँया दुई/दुई लेनको गरी चार लेनको हुनेछ ।  समानान्तर रूपमा निर्माण हुने भायडक्टको बीचमा कम्तीमा ८ मिटरको खाली ठाउँ (लाइट ग्याप) राखिने छ । जसले गर्दा मुनि हिँड्ने वन्यजन्तुले पर्याप्त प्रकाश र खुल्लापन महसुस गर्न सक्नेछन् ।

प्रत्येक संरचनाको कुल चौडाइ ११.७५ मिटर हुनेछ । जसमा ८ मिटरको मुख्य सडक (क्यारिज-वे), २.७५ मिटरको फुटपाथ र बाँकी भागमा क्र्यास ब्यारियर र सुरक्षा बारहरू रहने छन् । जमिनबाट भायाडक्टको उचाइ कम्तीमा ७ मिटर हुनेछ । यसले गर्दा हात्ती, गैँडा जस्ता ठूला वन्यजन्तुहरू पनि सजिलै आवतजावत गर्न सक्नेछन् ।

भायाडक्टमा गुड्ने सवारी साधनको हेडलाइटको उज्यालो र इन्जिनको आवाजले मुनिका वन्यजन्तुलाई तर्साउन नदिन विशेष खालका बारहरू जडान गरिनेछ । भायाडक्टको दुवैतर्फ करिब १४ हजार मिटर (पर्सामा) र ४,००० मिटर (बरन्डाभारमा) विद्युतीय वा सौर्य तारवार गरिनेछ । जसले वन्यजन्तुलाई सडकमा आउनबाट रोकी भायाडक्ट मुनिको सुरक्षित मार्गतिर जान सहयोग गर्दछ ।

 

एशियाली राजमार्ग-२ मापदण्डमा स्तरोन्नति हुने यो सडकमा सवारी साधन प्रतिघण्टा ८०-१०० किमीको स्पीड गुड्ने छन् ।

कुल १०० किलोमिटर लामो यो सडक सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र ग्रामीण तथा वनक्षेत्रमा २४ मिटर फराकिलो बनाइने छ । बाराको पथलैयाबाट सुरू हुने यो सडकको अन्तिम बिन्दु चितवनको गोन्द्राङ रहने छ । जसमा बारमा १९.५२ किमी बारा, ५०.१५ किमी मकवानपुर र ३० किमी चितवनमा पर्छ ।

त्यस्तै, यस सडकखण्डमा वन्यजन्तु वारपारका लागि १९ वटा एनिमल क्रसिङ र २४ वटा क्यानोपी ब्रिज निर्माण गरिने छ । सडक स्तरोन्नतिका क्रममा ४१ वटा पुल निर्माण गरिने छ । जसमा २२ वटा विद्यमान पुलहरूलाई प्रयोग/स्तरोन्नति गरिनेछ भने १९ वटा नयाँ पुलहरू (बक्स ब्रिज) थपिने छन् ।

त्यस्तै, २४६ वटा कल्भर्ट निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ । सहरी क्षेत्रमा फुटपाथ, पैदलयात्रु क्रसिङका लागि ६ स्थानमा आकासेपुल र १२ स्थानमा अन्डरपास निर्माण गरिने छ । यो सडकमा निर्माण हुने पुलका लागि १०० वर्ष, कल्भर्टका लागि ५० वर्ष र साइड ड्रेनका लागि २५ वर्ष रिटर्न फ्लोमा डिजाइन गरिएको छ।

यो सडक स्तरोन्नति ३ वर्षमा सम्पन्न हुनेछ । सन् २०२६ भित्रै ठेक्का लगाई काम सुरू गर्ने लक्ष्य राखिएको छ ।

साढे २३ हजार रुख काट्नुपर्ने

सडक स्तरोन्नतिका क्रममा कुल २३ हजार ३२६ वटा रुखहरू काट्नुपर्ने देखिएको छ । जसमा बारमा ९ हजार ६४६, मकवानपुरमा १० जार २७८ र ३ चितवनमा हजार ४०२ वटा पर्छन्। जसमा एउटा रूख काटे बापत १० विरूवा रोप्नुपर्नेछ । वृक्षरोपणका लागि २२ करोड २६ लाख ६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सडक विस्तारका क्रममा ३७८ घरधुरीका ४०३ वटा निजी संरचना र १८० वटा सामुदायिक संरचनाहरू (मन्दिर, चौतारा, प्रतिक्षालय, विद्यालयको पर्खाल आदि) प्रभावित हुनेछन् ।

सडक निर्माणाका लागि थप जग्गा अधिग्रहण भने गर्नुनपर्ने भएको छ । सडक निर्माण ५० मिटर क्षेत्राधिकार भित्र रहेर गरिने भएकाले थप जमिन आवश्यक नपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो सडक चारलेनमा स्तरोन्नतिपछि ट्राफिक जाम न्यूनीकरण, यात्रा अवधि छोटिने, यात्रा गुणस्तर अभिवृद्धि र सडक सुरक्षामा सुधार ल्याउने लक्ष्य लिइएको छ ।

 ईआइएमा सुझाव माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पथलैया-हेटौंडा-नारायणघाट सडकको ईआइए स्वीकृतिका लागि वन मन्त्रालयमा पेश गरेको छ ।

वन मन्त्रालयले सडकको ईआइए सार्वजनिक गर्दै सरोकारवालाहरूसँग सुझाव समेत माग गरेको छ । इच्छुक व्यक्ति वा निकायले चैत २१ गतेसम्म सुझाव पठाउन सक्ने मन्त्रालयले जनाएको छ । त्यसपछि मन्त्रालयले ईआइए स्वीकृत प्रक्रिया अघि बढाउने छ ।


Back_to_top