लोभलाग्दो इलेक्ट्रीक मारुती ८००, फुलचार्जमा १३० किमि रेञ्ज !

भारतीय डिजाइनर राजशेखर दासले मारुती सुजुकी ८०० को इलेक्ट्रीक कन्सेप्ट सार्वजनिक गरेका छन् । मारुती सुजुकी इन्डियाले इलेक्ट्रीक सवारीसाधन उत्पादनलाई बढवा दिने तयारी गरिरहेको समयमा राजशेखरले ल्याएको मारुती ८०० को कन्सेप्ट डिजाइनले धेरैको ध्यान खिचेको हो ।

अहिले मारुती सुजुकी इन्डियाले आफ्नो वागेनआर वेस इलेक्ट्रीक कारको परिक्षण गरिरहेको छ । यस्तोमा कम्पनीले अन्य इलेक्ट्रीक कार ल्याउने बहस गरिरहेको समयमा आएको डिजाइनले राम्रो चर्चा पाएको हो ।

धेरैले ठूलो गाडीलाई इलेक्ट्रीकमा उत्पादन गर्ने योजना अगाडि ल्याउँदा मारुती ८०० भने सानो साइजको उत्कृष्ट डिजाइनमा आएको हो । केही दिनअघि डिजाइनर विशाल बर्माले टाटा नानोको डिजाइन तयार गरेर अगाडि ल्याएका थिए । उनले ल्याएको आईनानोको डिजाइनले निकै चर्चा कमाउन सफल भएको थियो । अहिले दासले ल्याएको इलेक्ट्रीक मारुती ८०० अझै बढी चर्चा पाउन सफल भएको छ ।

उसोत मारुती ८०० भारती बजारमा सर्वाधिक सफल मध्येको एक कार हो । यो कार नेपालमा पनि धेरैको ग्यारेजमा अहिले पनि पाउन सकिन्छ ।

अहिले आएको मारुती ८०० को डिजाइन उत्कृष्ट रहेको छ । आधुनिक डिजाइन र आकर्षक इन्टेरियरमा तयार भएको कन्सेप्ट साँचै उत्कृष्ट रहेको छ । गाडी इन्टेरियर टेक्नोलोजीले भरिभराउ रहेको छ भने ठूलो टचस्कृनले गाडीको ड्यासबोर्ड एडभान्स देखिन्छ ।

उनले यसलाई एक पटकको फुलचार्जमा १३० किलोमिटर चलाउने गरि तयार गर्न सकिने दाबी गरेका छन् । यो निकै आधुनिक डिजाइनले भरिएको कार हुने दासको दाबी छ ।

तर, यो डिजाइनमा कम्पनीले मारुती ८०० ल्याउँछ वा ल्याउँदैन अहिल्यै एकिन गरेर भन्न सकिदैन ।


Back_to_top