काठमाडौं । जापानी कार निर्माता मारूती सुजुकीले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक एसयूभी ई भिटारा २१ दिनपछि सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीले आगामी डिसेम्बर २ देखि भारतीय बजारमा सुजुकी ई भिटाराको औपचारिक बिक्री सुरु गर्ने घोषणा गरेको हो ।
ई भिटारा भारतमै उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा ७ हजारभन्दा बढी युनिट निर्यात भइसके पनि भारतमा बिक्री सुरु भएको छैन । सुजुकीले अगष्टदेखि वेलायतमा निर्यात सुरु गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुजुकी ईभिटाराको ४९ र ६१ किलोवाट आवर गरी २ फरक ब्याट्री अप्सन रहेको छ । यो ईभीका ४९ किलोवाट भेरियन्टमा १०७ किलोवाटको फ्रन्टह्वील ड्राइभ मोटर र ६१ किलोवाट आवर ब्याट्रीप्याकको साथमा १३० किलोवाटको मोटर छ । ६१ किलोवाट ब्याट्रीप्याकको साथमा अलह्वील ड्राइभका लागि १३५ किलोवाटको ड्युल मोटर सिस्टम समेत रहेको छ ।
सुजुकी इभिटाराले सानो ब्याट्रीप्याक ४९ किलोवाट आवरको अप्सनबाट ३४४ किलोमिटर, ६१ किलोवाट फ्रन्टह्वील ड्राइभ ४२८ किलोमिटर र ६१ किलोवाटकै अलह्वील ड्राइभबाट ३९४ किलोमिटरको रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
भारतीय बजारमा २० देखि २५ लाख मूल्यमा लन्च हुने अनुमान गरिएको इभिटाराले महिन्द्राको बीई ६, हुन्डाई क्रेटा इलेक्ट्रीक, टाटा कर्भ र भिनफास्टको भीएफ ७ सँग प्रतिस्पर्धा गर्नेछ ।

