भारतमा मारुती सुजुकीले ईभी बेच्नुअघि नै २५ हजार चार्जर बनाउने

काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक भेहिकल ईभीएक्स लन्च गर्ने तयारी थालेको छ । आगामी जनवरी १७-२२ सम्म आयोजना हुने ‘भारत मोबिलीटी शो २०२५’ मा मारुती सुजुकी ईभीएक्स लन्च हुने अनुमान गरिएको छ ।

कम्पनीले भारतमा लन्च हुनु अगावै आफ्नो नेक्सा शोरुमहरूमा चार्जर जडान गर्न थालिसकेको तस्वीरहरू सार्वजनिक भएका छन् । कम्पनीले ईभीएक्सको बिक्री अगावै २५ हजार चार्जिङ प्वाइन्ट स्थापना गर्ने तयारी गरिरहेको छ । इन्डो जापनिज उत्पादक मारुती सुजुकीले आफैं फुल फ्लेज चार्जिङ इकोसिस्टम बनाउने तयारी गरिरहेको छ ।

कम्पनीले पहिलो ३ महिनामा ३ हजार यूनिट ईभीएक्स उत्पादन गर्ने योजना बनाएको छ । मारुती सुजुकीको जिरो इमिसन भेहिकल कम्पनीको गुजरातमा रहेको उत्पादन प्लाण्टमा हुनेछ ।

यस्तो छ ईभी एक्स

ईभीएक्सको हालै बाहिर आएको तस्वीर हेर्दा सुजुकीले आफ्नो अन्य मोडलभन्दा पृथक इन्टेरियर ईभी एक्समा दिएको छ ।

सुजुकीले ड्यासबोर्डको बीचमा १० देखि १२ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको देखिन्छ । यसमा हेडअप डिस्प्ले, वायरलेस फोन चार्जर, ड्युलजोन अटोमेटिक एसी, एम्बियन्ट लाइटको प्रयोग हुनेछ ।

इलेक्टीक पावर फ्रन्ट सिट, नयाँ डिजाइनको टुस्पोक स्टेरिङ ह्वील, अटोडिमिङ आइआरभीएम, रोटरी ड्राइभ मोड सेलेक्टर दिनेछ । ईभीएक्समा सिंगल प्यानल सनरुफ, ३६० डिग्री क्यामरा, एडास सिस्टम, अल एलईडी लाइट, पिल्लर माउण्टेड रियर डोर ह्याण्डल, चार्जिङ पोर्ट माउण्टेड फ्रन्ट फेन्डर, नयाँ डिजाइनको अलोय ह्वील, ब्राण्ड न्यू ड्यासबोर्ड तथा सेन्टर कन्सोल जस्ता फिचर दिनेछ ।

सुजुकीले ईभीएक्सलाई टोयोटाको ‘२७-पीएल स्केटबोर्ड आर्किटेक्चर’मा बनाएको हो । यसमा ४० किलोवाट आवर र ६० किलोवाट आवरका दुई फरक ब्याट्री प्याक रहनेछ । कम्पनीले यसले सिंगल चार्जमा ५५० किलोमिटरसम्म रेन्ज दिने दाबी छ ।

ईभी एक्समा सुपर फास्ट चार्जिङका साथै भेहिकल टु लोड क्यापाबिलिट समेत रहनेछ । यसमा पर्फमेन्सका लागि सिंगल र टुइन मोटर सेटअप समेत हुनेछ ।

ईभीएक्स टोयोटा र सुजुकी मिलेर विकास गरेको पहिलो विद्युतीय एसयूभी हो । टोयोटाले पनि अर्बान एसयूभी कन्सेप्टमा आगामी वर्षको दोस्रो त्रैमासमा ईभी एक्सकै बेसमा ईभी लन्च गर्ने जनाएको छ ।

सुजुकीले भारतलाई ईभीको उत्पादन हबको रुपमा विकास गरी युरोप तथा जापानमा समेत निर्यात गर्ने लक्ष्य राखेको छ ।


Back_to_top