सुजुकीले नेपाल ल्याउँदै ३ नयाँ कार, बन्न सक्छ गेमचेन्जर

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले ३ नयाँ मोडल नेपाल ल्याउने योजना बनाइरहेको छ । कम्पनीले भारतमा विक्री गरिरहेको नयाँ जेनेरेशन ब्रेजा, नयाँ जेनेरेशन बलेनो र अल न्यू मोडल ग्राण्ड भिटारा नेपाल ल्याउने तयारी गरेको हो ।

अहिले आयात प्रतिबन्ध लागेको कारण कम्पनीले यी मोडल ल्याउन पाइरहेको छैन । यदि मंसिर २८ गतेपछि आयात खुल्ने हो भने यी तीनवटै मोडल नेपाल आउने छ ।

सिजी मोटोकर्पले नेपालमा विक्री गर्दै आएको बलेनो करिब ११ महिनाअघि नै भारतमा नयाँ जेनेरेशन मोडलको रुपमा आएको थियो । त्यसैगरी कम्पनीले जुलाईमा भारतमा ब्रेजाको नयाँ जेनेरेशन मोडल र केही समयअघि ग्राण्ड भिटारा मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले नेपाल ल्याउने दुई मोडल एसयूभी हुन् भने एउटा मोडल प्रिमियम ह्याचव्याक मोडल हो ।

नयाँ बलेनो ह्याचव्यक

मारुती सुजुकीले भारतमा ल्याएको बलेनो आधुनिक फिचरले भरिपूर्ण रहेको छ । कम्पनीले यसमा हेडअप डिस्प्ले, ३६० डिग्री क्यामेरा, अटो डिमिङ आइआरभीएम, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, सुजुकी कनेक्ट टेक जस्ता दिएको छ ।

नयाँ बलेनोको अगाडिको सम्पूर्ण भागमा परिमार्जन देख्न सकिन्छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हेडल्याम्पमा देखिनेगरी परिवर्तन भएको छ । एडइडी डे टाइम रनिङ लाइटसहितको नयाँ हेडल्याम्प सेटअपले कारलाई निकै आकर्षण देखाएको छ । हेडलाइट जस्तै नयाँ बलेनोको टेललाइट पनि परिवर्तन भएको छ । अब बलेनोमा र्याप अराउण्ड एलइडी टेललाइट पाउन सकिन्छ ।

बनेको ग्रिल पनि परिवर्तन भएको छ । नयाँ ग्रिलमा वाइड साइजको सेन्ट्रल एयरइन्टेक दिइएको छ । साथै, फगल्याम्प हाउजिङको डिजाइन पनि पूर्णत नयाँ दिइएको छ । यसमा १६ इन्चको ड्यूल टोन अलोय ह्वील दिइएको छ ।

नयाँ बलेनो १.२ लिटर फोर सिलिण्डर ड्यूल जेट भीभीटी पेट्रोल इन्जिनमा आएको छ । उक्त इन्जिनले ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्नेछ ।

नयाँ जेनेरेशन ब्रेजा

ब्रेजा नेपालमा निकै सफल मोडल हो । सुजुकीको हटकेक मोडलको रुपमा रहेको नयाँ जेनेरेशन मोडलको डिजाइनमा धेरै परिवर्तन नभएपनि फिचर भने व्यापक वृद्धि गरिएको छ । नयाँ जेनेरेशन ब्रेजामा पहिलो पटक सनरुफ समेत उपलब्ध छ ।

नयाँ जेनेरेशन ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरव्याग पाउन सकिन्छ ।

नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्कीड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, ड्यूल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ । यसको इन्जिन भने पुरानै मोडलबाट निरन्तरता दिइएको हो । ब्रेजामा १.५ लिटर पेट्रोल इन्जिन छ ।

ग्राण्ड भिटारा

सुजुकी र टोयोटा मिलेर बनाएको ‘ग्राण्ड भिटारा’ कम्प्याक्ट एसयूभी हो । विशेषत हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न आएको ग्राण्ड भिटारा भारतमा राम्रो संख्यामा विक्री हुन थालेको छ ।

सुजुकीले पहिलो पटक हाइब्रिड इन्जिनसहित लन्च गरेको ग्राण्ड भिटारा हुन्डाई क्रेटा जस्तै ४.३ मिटर लामो छ ।

ग्राण्ड भिटारामा १.५ लिटर फोर सिलिण्डर, के१५सी डिउलजेट पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ, यही इन्जिन ब्रेजामा पनि उपलब्ध छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

कम्पनीले भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ । यो हाइब्रिड इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । यसको माइलेज अविश्वसनिय छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दावी गरेको छ । यो ई–सिभिटी गियरबक्समा उपलब्ध हुनेछ ।

सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।

मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरु मध्ये पहिलो पटक पानारोमीक सनरुफ पनि दिएको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर पाउन सकिन्छ ।

टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ ।

 

ग्राण्ड भिटारामा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टसका साथै लक टेरेन मोड समेत छ । ड्राइभ कम्फर्टका लागि इभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।


Back_to_top