काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम ‘एक्सप्लोर द ट्रयाक’ अन्तर्गत सन् २०२६ को पहिलो अन्तर्राष्ट्रिय सहभागिता भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न भएको छ ।
९-११ जनवरी २०२६ मा भएको एमएमएससी नेपाल टीभीएस रेसिङमा नेपालका श्रीहरि पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका छन् ।
नेपाल टीभीएस रेसिङमा अन्तर्गत ९ जनवरी ओरियन्टेशन, १० जनवरी प्राक्टिस रेस र ११ जनवरीमा फाइनल रेस भएको थियो । उक्त फाइनल रेसमा सहभागी नेपाली राइडरहरू मध्ये पौडेल विजेता बनेका हुन् ।
घरेलु रोड रेसिङमा लामो समयदेखि एकलौटी दबदबा राख्दै आएका पौडेलले अन्तर्राष्ट्रिय स्तरको यस ट्रयाकमा समेत आफूलाई अब्बल सावित गरे ।
त्यसैगरी, तीव्र प्रतिस्पर्धा बीच अभिनव राज मल्ल दोस्रो र दिलिप दनुवार तेस्रो स्थानमा रहन सफल भए । विजेता सहितको सम्पूर्ण नेपाली टिमलाई मद्रास मोटर स्पोट्र्स क्लबका अधिकारीहरूले विशेष सम्मान तथा पुरस्कार प्रदान गरेका थिए, जसमा नासा नेपालका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
गत डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनशिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरू सम्मिलित ११ सदस्यीय नेपाली टिममा श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाईं, अभिनव राज मल्ल, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल रहेका थिए ।
टिमको व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गरेको थियो भने क्लबका निर्देशक विनोद तण्डुकार टिम म्यानेजर तथा बागमती प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियलको रूपमा सहभागी थिइन् ।

