काठमाडौं । कार बजारको लागि सन् २०२६ धेरै शुभ संकेतहरू लिएर आएको देखिँदैन । खासगरी, अमेरिकी–चीन व्यापार युद्धको चपेटामा विश्व अटोमोबाइल क्षेत्र पर्ने अनुमान हुन थालेको छ ।
सन् २०२५ मा विश्वभर ९ करोड १७ लाख युनिट कारको बिक्री भएको अनुमान छ । ठ्याक्कै तथ्यांक आउन अझै केही समय लाग्छ । एस एण्ड पी ग्लोबल मोबिलिटीका अनुसार सन् २०२६ मा लाइट भेहिकलको बिक्रीमा थोरै गिरावट देखिएको छ ।
एस एण्ड पी ग्लोबल मोबिलिटीको रिपोर्टले अमेरिकी कर नीति, चीनको विश्वव्यापी बढ्दो प्रभाव र युरोपमा ईभीको असमान मागको कारण बिक्रीमा गिरावट आउने अनुमान गरिएको छ । त्यसका साथै, ‘रियर अर्थ मेटेरियल’मा हुने भूराजनीतिक लडाइँले पनि कारको व्यापारमा असर गर्ने देखिन्छ । अझ हाइ भोल्टेज ब्याट्रीको विकासमा प्रयोग हुने सिल्भर र कप्परको मूल्य थप जटिल हुनेछ ।
अमेरिकाले ईभीमा दिएको अनुदान कटौती गर्नु, चीनले उत्पादनमा आधारित अनुदान हटाएर बिक्रीमा आधारित बनाउनु र विश्व अर्थतन्त्रमा देखिएका सुस्तताको कारण पनि कारको उत्पादन र बिक्री दुवै घट्न सक्नेछ ।
कार उत्पादन र प्रयोग दुवैमा विश्वकै बलियो बजार मानिएको चीनमा पनि बिक्री घट्ने अनुमान गरिएको छ । ईभीको वृद्धि निकै ‘स्लो’ हुँदै जाने अनुमान यसअघि नै ब्लूमबर्गले गरिसकेको थियो ।
यी सबैका बीचमा हाइब्रिड टेक्नोलोजीको प्रयोग र उत्पादन भने दुवै राम्रो वृद्धि हुने एस एण्ड पी ग्लोबल मोबिलिटीको रिपोर्टमा उल्लेख छ । सम्भवतः सन् २०२६ मा पीएचईभीको बिक्री ३२ प्रतिशत हाराहारीले बढ्नेछ ।
सन् २०२६ पनि चीनको लागि न्यू इनर्जी भेहिकलमा थप काम गर्न सहयोगी बन्नेछ । युरोप र अमेरिका जस्ता बजारमा आझै पनि हाइब्रिड र आइसीई भेहिकलले नै पकड जनाउने छन् ।
नेपाल सन्दर्भ
नेपालमा गाडी ल्याएर बिक्री गर्ने हो । एसेम्बल उद्योग पनि हुन्डाई एउटा मात्रै ब्राण्डको छ । त्यसैले विश्वव्यापी कार बजारको बाछिटा नेपालमा धेरै पर्दैन । तर, मूल्यमा भने केही उतरचढाव आउन सक्छ ।
नयाँ बजेटले ईभीमा लिने कर नीति, आयात गर्दा कम्पनीले दिने मूल्य र बजारमा रहेका प्रतिस्पर्धी बीचको द्धन्द्धले नेपालको बजार निर्धारण गर्छ । सन् २०२६ पनि नेपालमा ईभीकै बोलवाला रहनेछ । बजार साइज भने धेरै बढ्ने सम्भावना देखिँदैन ।

