मध्यपहाडी राजमार्गको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू

सांकेतिक तस्बिर ।

काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना अन्तर्गत पर्वतको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको छ ।

पर्वतको मोदी गाउँपालिका-२ र पातिचौर-६ डिमुवा जोड्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको हो ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको यो ७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो । ठेक्का सम्झौता अनुसार यो पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ ।

मध्यपहाडी राजमार्गको पर्वत खण्ड ३ वर्ष अघि नै दुईलेनमा कालोपत्र सम्पन्न भइसकेको छ ।सडक दुई लेनको बने पनि खोलानदीमा एक् लेनको पुल रहँदा सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो ।

पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पक्की पुल निर्माण भइसकेको छ । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी रहेको आयोजनाले जनाएको छ ।


Back_to_top