यस्ता छन् ‘सेकेन्ड ह्याण्ड’मा सर्वाधिक खोजी हुने ४ कार

काठमाडौं । ‘सेकेन्ड ह्याण्ड कार’ बजारमा आउने मूल्यले नयाँ गाडीको विक्रीमा ठूलो असर पार्छ । कुनै पनि मानिसले नयाँ गाडी किन्नुअघि पछि विक्री गर्दा रिसेल मूल्य कति आउँछ भनेर सोध्ने गरेको पाइन्छ ।

सेकेन्ड ह्याण्ड बजारमा गाडी किन्ने मानिसको संख्या पनि बढ्दै गएको छ भने पछिल्ला वर्षमा विक्री भएको नयाँ गाडीको तथ्यांकले पनि सेकेन्ड ह्याण्ड बजारमा गाडीको माग र सप्लाई दुबै बढेको देखाउँछ ।

अहिले उपत्यकामा मात्रै ४ दर्जन जति रिकन्डिसन हाउसहरुले कार विक्री वितरण गर्दै आएका छन् । उनिहरुले सिधै ग्राहकबाट गाडी ल्याउनेदेखि कम्पनीहरुले लगाउने एक्सचेन्ज अफरमा पनि सहभागी भएर गाडी किन्ने र नयाँ ग्राहकलाई विक्री गर्ने गरेका छन् ।

लामो समयदेखि सेकेन्ड ह्याण्ड कारको खरिद विक्रीमा सक्रिय सचिन कुईँकेल भन्छन्, ‘ठूलो, फिचर लोडेड र आकर्षक गाडी खोज्ने तर, धेरै रकम खर्च गर्न नसक्ने मानिस सेकेन्ड ह्याण्ड कार किन्न रुचाउँछन् । सेकेन्ड ह्यान्ड कार किनेर २÷३ वर्ष चढ्दा पनि किनेकै मूल्यमा पुनः विक्री गर्न पाइने भएकोले पनि धेरै मानिसको आकर्षण रिकन्डिसन कारमा रहेको देखिन्छ ।’

अहिले श्रेया अटोमोवाइलका संचालक समेत रहेका कुईँकेल बजारमा साना र छरिता कार खोज्ने ग्राहक धेरै भएको बताउँछन् ।

हामीले उपत्यकामा रहेका १० वटाभन्दा धेरै रिकन्डिसन हाउससँग गरेको कुराकानीको आधारमा अहिले पनि हुन्डाई सेन्ट्रो सर्वाधिक खोजीने कार भएको पायौं । त्यस्तै हुन्डाई आई १०, सुजुकी सेलेरियो, सुजुकी स्वीफ्ट र हुन्डाई आई २० सबैभन्दा धेरै खोजिने मोडल हुन् ।

१. हुन्डाई सेन्ट्रोः हुन्डाईले सन् २००८ देखि २०१५ सम्म विक्री गरेको सेन्ट्रो अहिले पनि सेकेन्ड ह्याण्ड बजारमा सर्वाधिक खोजी हुने कार हो । यो कार रिकन्डिसन व्यवसायीको शोरुममा राख्नै नपर्ने व्यवसायीहरु बताउँछन् । १.१ लिटर क्षमताको इन्जिन, टलव्वाई डिजाइन, मस्कुलर बडी जस्ता कारण यसको बजारमा उच्च माग रहेको हो ।

समान इन्जिनमा अहिले पनि हुन्डाईले सेन्ट्रो विक्री हुँदै आएको भएपनि यसको विक्री ठिकठाक रहेको छ । तर, अहिले पनि बजारमा ११ लाख रुपैयाँसम्म तिरेर पुरानो सेन्ट्रो किन्ने ग्राहक पाउन सकिन्छ ।

२. हुन्डाई आई १०ः हुन्डाईले आई १० लाई दुई इन्जिन अप्सनमा बजारमा विक्री गरेको थियो । सन् २००७ देखि १३ सम्म बजारमा रहेको आई १० नेपालमा पहिलो पटक ५ हजार यूनिट विक्री पुरा गर्ने मोडल हो ।

हुन्डाईले १.१ र १.२ लिटर इन्जिन अप्सनमा ल्याएको आई १० नेपालमा विक्री हुन छाडेको ८ वर्ष पुरा हुन लागेको भएपनि यसको रिकन्डिसन बजारमा माग देख्दा यो जिवन्त कार जस्तो लाग्छ ।

१२ देखि १३ वर्ष पुरानो आई १० को मूल्य अहिले पनि बजारमा ११ लाखभन्दा माथि रहेको रिकन्डिसन व्यवसायीको भनाई छ । सानो साइज, उत्कृष्ट माइलेज, पावरफुल इन्जिन र निकै रामदायी क्यावीनको कारण अहिले पनि धेरै मानिसले यसलाई खोज्ने गरेका छन् ।

३. मारुती सुजुकी स्वीफ्टः सन् २०१२ देखि १८ सम्म उत्पादन भएको सेकेन्ड जेनेरेशन स्वीफ्ट रिकन्डिसन बजारमा उच्च माग भएको कार हो । स्पोर्टी डिजाइन, रेसिङ कारको बनोट, प्रिमियम फिचर र सुजुकीको सेल्स र सर्भिस नेटवर्कले स्वीफ्टलाई रिकन्डिसन बजारमा पनि अब्बल बनाएको छ ।

सुजुकीको १.३ लिटर क्षमताको इन्जिन, २० लिटरसम्मको उत्कृष्ट माइलेजको कारण नयाँमा पनि निकै सफल स्वीफ्ट रिकन्डिसनमा पनि धेरै खोजीने कारमा पर्छ ।

४. सुजुकी सेलेरियोः पर्फेक्ट फ्यामली कारको उपनाम पाएको सेलेरियो पहिलो पटक २०१५ मा आएको हो । नेपाल आएको करिब ६ वर्ष मात्रै भएपनि सेलेरियो खोज्ने मानिस धेरै रहेका छन् ।

सुजुकीको चर्चित १.० लिटर फोर सिलिण्डर इन्जिन रहेको सेलेरियो सहरी बाटोमा निकै रुचाइएको मोडल हो । सन् २०१५ देखि २०१८ सम्म एकलौटी नेपाली बजारमा राज गरेको सेलेरियो अहिले पनि धेरै मानिसको राजाईमा पर्न सफल मोडल हो ।


Back_to_top