गुगलमा सर्वाधिक खोजी हुने ब्रान्ड बन्यो टोयोटा, नेपालबाट ल्याम्बोर्गीनीको खोजी धेरै

बेलायती इन्सुरेन्स कम्पनी भेगोले विश्वमा गुगलमा खोजीएका कार ब्राण्डहरुको रिसर्च रिपोर्ट सार्वजनीक गरेको छ । यो रिपोर्ट गत १२ महिनामा विश्वबाट गुगल सर्च इन्जिनमा खोजिएको कार ब्रान्डको गुगल एनलाइटिक्स रिपोर्टबाट निकालिएको हो ।  विश्वमा इन्टरनेटमा खोजिएका कार ब्राण्डको लिस्टमा एसियन कार उत्पादकहरुको दबदबा देखिएको छ । 

गुगलमा सबभन्दा धेरै खोजिएको कारमा टोयोटा पहिलो स्थानमा रहेको छ । भेगोले १७१ देशमा गरेका रिसर्च रिपोर्ट अनुशार सबभन्दा धेरै ५७ देशमा टोयोटाको खोजि भएको देखिन्छ । प्रति महिना ७८ लाख टोयोटाको गुगलमा खोजी भएको थियो । त्यस्तै होण्डाको ७० लाख र फोर्डको ६४ लाख रहेको थियो । 

टोयोटाको गुगलमा खोजी संयुक्त राज्य अमेरिका, क्यानाडा, अष्ट्रेलिया, साउथ अफ्रिका, फिनल्याण्ड र फिलीपीन्सजस्ता देशहरुमा धेरै भएको थियो । टोयोटापछि बीएमडब्लुको खोजी २५ वटा देशमा भएको थियो भने मर्सिडिज बेन्जको खोजि २३ वटा देशहरुबाट भएको छ । 

ल्याम्बोर्गीनीको खोजी पनि १२ वटा देशहरुमा भएको थियो, जसमा भेनेजुयला पनि रहेको छ  । नेपाल जस्ता गरिब देशमा पनि सर्वाधिक गुलल सर्च भएको ब्रान्ड ल्याम्बोर्गीनी नै रहेको छ । इलेक्ट्रीक लग्जरी कार ब्रान्ड टेस्लाको पनि नर्वे, नेदरल्याण्ड, हङकङजस्ता ७ वटा देशहरुमा धेरै खोजी भएको देखिन्छ ।  

पाँचवटा देशहरुमा भने आफ्नै देशको ब्राण्ड धेरै खोजी भएको देखिन्छ । जसमा रेनो फ्रान्समा, मर्सिडिज बेञ्ज जर्मनमा, मारुती सुजुकी भारतमा, पेरुडुवा मलेशियामा र भल्भो स्वीडेनमा धेरै खोजि भएको छ । 

गुगलमा भएको खोजिको लिस्टमा पगानी, अकुरा र क्रिस्लर जस्ता ब्राण्डहरु कम खोजीका ब्रान्डहरु हुन् । 


Back_to_top